Translate

Thursday, April 2, 2026

मोबाइलमा अंग्रेजी विषयको एसईई प्रश्नपत्र भेटिएपछि कबिलासी-२ बाट एक जना पक्राउ

 


मधेशदूत समाचारदाता---
सर्लाही, चैत २०

    सर्लाहीको कविलासी नगरपालिका–२ पिपरियास्थित बाल गोविन्द जनता माध्यमिक विद्यालय परीक्षा केन्द्र बाहिर मोबाइलमा प्रश्नपत्र भेटिएपछि एक जना पक्राउ परेका छन्।
   जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार कविलासी नगरपालिका–५ पचगछियाका मनोज यादवलाई बिहीबार नियन्त्रणमा लिइएको हो। उनी परीक्षा केन्द्र बाहिर बसिरहेका बेला उनको मोबाइलमा सोही दिन सञ्चालन भइरहेको एसईई अन्तर्गत अनिवार्य अंग्रेजी विषयको प्रश्नपत्र फेला परेको थियो।
   प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले मोबाइलबाट प्रश्नपत्र भेटिएपछि यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जानकारी दिनुभयो। परीक्षा सञ्चालनकै क्रममा उक्त प्रश्नपत्र कसरी उनको मोबाइलमा पुग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो।
स्रोतका अनुसार पक्राउ परेका यादवकै परिवारका एक सदस्यले सोही केन्द्रबाट एसईई परीक्षा दिइरहेका छन्।
   यस वर्षदेखि एसईई परीक्षा केन्द्रमा केन्द्राध्यक्ष बाहेक अन्य कसैलाई पनि मोबाइल फोन लैजान प्रतिबन्ध लगाइएको छ। साथै परीक्षा केन्द्र वरपर २०० मिटरभित्र अभिभावक तथा अन्य व्यक्तिलाई बस्न नदिने व्यवस्था गरिएको शिक्षा विकास तथा समन्वय एकाइ मलंगवाले जनाएको छ।

No comments:

Post a Comment