हाकिम अभावले गोडैतामा विकास काम ठप्प, भुक्तानी नपाउँदा उपभोक्ता चिन्तित
मधेशदूत समाचारदाता---
सर्लाही,चैत १९
सर्लाहीको गोडैता नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत (हाकिम) नहुँदा नगरपालिकाको सेवा प्रवाहमा अवरोध सिर्जना भएको छ। जनप्रतिनिधिहरूको कार्यकाल सकिन लाग्दा पनि प्रशासनिक नेतृत्व नहुँदा विकास निर्माणसम्बन्धी कामहरू प्रभावित भएका छन्।
चालु आर्थिक वर्षको अन्तिम समयसम्म आइपुग्दा पनि विभिन्न योजनाअन्तर्गत सम्पन्न भएका कामहरूको भुक्तानी हुन नसक्दा उपभोक्ता समिति, ठेकेदार तथा मजदुरहरू समस्यामा परेका छन्। भुक्तानी नहुँदा धेरैले ऋण तिर्न र दैनिक खर्च धान्न कठिनाइ भएको बताएका छन्।
स्थानीय एक उपभोक्ता समितिका सदस्यले भने, “काम सकिएको धेरै समय भयो, तर भुक्तानी नआउँदा आर्थिक भार बढ्दै गएको छ।”
यस विषयमा वडा अध्यक्षहरुले हाकिमको अभाव नै मुख्य समस्या रहेको बताएका छन्।
“प्रमुख प्रशासकीय अधिकृत नहुँदा फाइल प्रक्रिया अघि बढ्न सकेको छैन। हामीले माथिल्लो निकायसँग समन्वय गरिरहेका छौं, छिट्टै हाकिम आउने विश्वास छ।”एक वडाअध्यक्षले भने।
प्रशासनिक नेतृत्व अभावकै कारण योजना भुक्तानी, सिफारिस तथा अन्य सेवाहरू प्रभावित भएको वडाअध्यक्षहरुले बताए । स्थानीयवासीले तत्काल हाकिम खटाई सेवा प्रवाह सहज बनाउन सम्बन्धित निकायसँग माग गरेका छन्।
No comments:
Post a Comment