एकद्धार सेवा प्रणाली लागू गर्दै प्रशासन, सेवाग्राहीलाई सहज हुने अपेक्षा
मधेशदूत समाचारदाता----
सर्लाही,चैत १९
सर्लाहीको सदरमुकाम मलंगवा स्थित जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको कार्यालय प्रमुखहरुको बैठकले सेवा प्रवाह सुधार, सुशासन र सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न निर्णयहरु गरेको छ।
प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको अध्यक्षतामा बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ सफल बनाउन योगदान पुर्याउने सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी तथा मतदातालाई धन्यवाद व्यक्त गरेको छ। साथै, मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधार सम्बन्धी १०० कार्यसूचीलाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गरिएको छ।
जिल्लाभित्रका सबै कार्यालयहरुले अब एकद्धार प्रणालीमार्फत सेवा सञ्चालन गर्नुपर्नेछ, जसले सेवाग्राहीलाई सहजता दिने अपेक्षा गरिएको छ। कर्मचारीहरुको वैयक्तिक विवरण (PIS) अद्यावधिक गर्न पनि निर्देशन दिइएको छ।
त्यसैगरी, स्थानीय तहहरुलाई CCTV मर्मत गरी सुरक्षित रूपमा डेटा राख्न तथा विपद् व्यवस्थापनका लागि आवश्यक सामग्रीको विवरण समयमै जिल्ला प्रशासन कार्यालयमा पठाउन भनिएको छ।
नदीजन्य तथा खानीजन्य पदार्थको उत्खन्नमा पारदर्शिता कायम गर्न स्थानीय तहहरुलाई उत्खन्न गरिएको सामग्रीको विवरण प्रमाणित गरी पठाउन पनि निर्देशन दिइएको छ।
बैठकका निर्णयहरुले सेवा सुधार र पारदर्शिता बढाउने अपेक्षा गरिएको छ, तर यसको प्रभावकारिता कार्यान्वयनमै निर्भर रहनेछ।
No comments:
Post a Comment