लालबन्दी–३ जब्दीलाई शुक्रबार मर्यादित महिनावारी मैत्री वडा घोषणा गरिने
मनोज यादव---
सर्लाही, बैशाख १०
सर्लाहीको लालबन्दी नगरपालिका–३, जब्दीलाई भोली शुक्रबार मर्यादित महिनावारी मैत्री वडा घोषणा गरिने भएको छ। वडाभित्र आवश्यक सबै सूचक पूरा भएपछि उक्त घोषणा गर्न लागिएको हो।
लालबन्दी नगरपालिका, वडा कार्यालय, राधा पौडेल फाउण्डेशन र बाल संरक्षण संस्थाको सहकार्यमा जब्दीलाई मर्यादित महिनावारीमैत्री वडा घोषणा गर्न लागिएको आयोजकले जनाएको छ। आयोजकका अनुसार जब्दीलाई नेपालकै पहिलो मर्यादित महिनावारीमैत्री वडा बनाउने दाबी गरिएको छ।
बुधबार लालबन्दी स्थित नमस्ते होटलमा आयोजित अन्तरक्रिया तथा पत्रकार सम्मेलनमा बाल संरक्षण संस्थाकी अध्यक्ष राधा घिमिरेले निरन्तर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै वडालाई घोषणाको चरणमा पुर्याइएको जानकारी दिइन्।
कार्यक्रममा सहभागी बाल क्लब, महिला समूह, शिक्षक, स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीहरूले महिनावारीलाई प्राकृतिक प्रक्रिया मानेर कुनै प्रकारको विभेद र छुवाछुत नगर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
त्यसैगरी, सहभागीहरूले पछिल्लो समय महिनावारीबारे खुलेर छलफल बढ्दै गएको र विभेद घट्दै गएको उल्लेख गरे। साथै, धेरै महिलाले फोहोर कपडाको सट्टा स्यानेटरी प्याड प्रयोग गर्न थालेको सकारात्मक परिवर्तन भएको बताए।
कार्यक्रमकी प्रमुख अतिथि तथा मधेश प्रदेशसभा सदस्य बेची लुंगेलीले महिनावारीका नाममा हुने छुवाछुत र कुरीतिलाई अन्त्य गर्नुपर्नेमा जोड दिइन्।
यस्तै, लालबन्दी–३ का वडाध्यक्ष बुद्धदेव चौधरीले देशमै पहिलो पटक आफ्नो वडा मर्यादित महिनावारीमैत्री वडा घोषणा हुन लागेकोमा खुसी व्यक्त गरे।
बाल संरक्षण संस्थाले राधा पौडेल फाउण्डेशनसँगको सहकार्यमा लालबन्दी–३, ९ र १० मा महिनावारी सचेतना सम्बन्धी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आइरहेको जनाएको छ।
No comments:
Post a Comment