हुकिङ नियन्त्रणमा प्राधिकरणको कडाइ, तर ४५% चुहावट अझै चुनौती
मनोज यादव----
सर्लाही, वैशाख १०
जिल्लामा विद्युत् चोरी नियन्त्रणका लागि अभियान तीव्र बनाइएको भए पनि चुहावटको दर अझै उच्च रहेको देखिएको छ। नेपाल विद्युत् प्राधिकरण अन्तर्गत मलंगवा वितरण केन्द्रले पछिल्ला दिनमा डाइरेक्ट हुकिङमार्फत चलाइएका उपकरणहरू धमाधम बरामद गरिरहेको छ, तर समस्या पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन।
जिल्लाको दक्षिण–पश्चिम क्षेत्रका विभिन्न गाउँमा गरिएको अनुगमनका क्रममा हुकिङ लगाएर सञ्चालनमा रहेका ११ मोटर, एक पङ्खा र एक भाइब्रेटर मेसिन बरामद गरिएको केन्द्रले जनाएको छ। सिसौट, बेल्वा, गोडैता, बकैनिया, रोहुवा, भवतीपुर, सोनारटोल र बहादुरपुर क्षेत्रमा केन्द्रित टोलीले प्रत्यक्ष लाइन तानेर विद्युत् प्रयोग भइरहेको भेट्टाएको हो।
तर, उपकरण बरामद र लाइन काट्ने कारबाही बढ्दै जाँदा पनि मुख्य चुनौती भनेकै उच्च चुहावट दर रहेको छ। मलंगवा वितरण केन्द्रमा हालसम्म करिब ४५ प्रतिशत विद्युत् चुहावट रहेको तथ्यांकले देखाउँछ, जुन राष्ट्रिय औसतभन्दा निकै माथि मानिन्छ।
पाँच महिनाको अवधिमा ३५ जना ग्राहकको लाइन काटिएकोमा २२ जनाले मात्र नियमअनुसार पुनः जडान गराएका छन्। बाँकी उपभोक्ता सम्पर्कबाहिर रहँदा राजस्व संकलन र व्यवस्थापनमा थप जटिलता थपिएको छ।
यता, वर्षौंदेखि बक्यौता नतिर्ने र सम्पर्कमा नआउने करिब १,८०० ग्राहकको खोजीका लागि छुट्टै टोली परिचालन गरिएको छ। विद्युत् चोरी मात्र नभइ बक्यौता असुली पनि प्राधिकरणका लागि समानान्तर चुनौती बनेको छ।
प्राधिकरणका अनुसार अब अभियानलाई अझ कडाइका साथ निरन्तरता दिँदै स्थानीय तह र समुदायसँग सहकार्य बढाइनेछ। तर दीर्घकालीन समाधानका लागि जनचेतना, कडाइका कारबाही र प्रविधिगत सुधार तीनै पक्ष सँगै अघि बढाउनुपर्ने देखिएको छ।
No comments:
Post a Comment