Translate

Saturday, April 11, 2026

मलंगवामा उत्तर प्रसूति घरभेट कार्यक्रमको वार्षिक समीक्षा गोष्ठी सम्पन्न

 



मधेशदूत समाचारदाता---
सर्लाही, चैत २९

    सर्लाहीको मलंगवा नगरपालिकामा आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत सञ्चालन गरिएको उत्तर प्रसूति घरभेट (PNC Home Visit) कार्यक्रमको वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ। शनिवार नगरपालिकाको सभा हलमा आयोजित उक्त कार्यक्रम स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न भएको हो।
    कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख विष्णुकान्त साहले आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षाका लागि उत्तर प्रसूति घरभेट कार्यक्रम अत्यन्त प्रभावकारी रहेको बताए। उनले स्वास्थ्यकर्मीहरू प्रसूति पश्चात् घरमै पुगेर आमा र शिशुको स्वास्थ्य अवस्था जाँच गर्नुका साथै आवश्यक परामर्श प्रदान गरिरहेको जानकारी दिए।
    गोष्ठीमा सहजीकरण गर्दै स्वास्थ्य कार्यालय सर्लाहीका तथ्यांक अधिकृत लालबाबु यादवले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै आमा र शिशुको ज्यान जोगाउने, जटिलता समयमै पहिचान गर्ने, सुरक्षित स्तनपान प्रवर्द्धन गर्ने, सरसफाइ तथा पोषणसम्बन्धी सचेतना अभिवृद्धि गर्ने र आवश्यक परेमा स्वास्थ्य संस्थामा रिफर गर्ने रहेको बताए।
कार्यक्रम अन्तर्गत स्वास्थ्यकर्मीहरूले प्रसूति भएको पहिलो २४ घण्टा, ३ दिन, ७ दिन र १४ दिनभित्र घरभेट गरी आमा र शिशुको स्वास्थ्य जाँच गर्ने गर्छन्। यस क्रममा आमाको रक्तस्राव, ज्वरो, स्तनपानको अवस्था तथा शिशुको तौल, तापक्रम, सासप्रश्वास र नाभीको अवस्थाको मूल्यांकन गरिन्छ। साथै ४२औं दिनमा आमा स्वयं स्वास्थ्य संस्थामा पुगेर नियमित जाँच गराउने व्यवस्था रहेको जनाइएको छ।
घरमै पुगेर सेवा प्रदान गरिने भएकाले विशेषगरी ग्रामीण तथा पहुँचबाहिरका समुदायमा यस कार्यक्रमको प्रभावकारीता अझ बढी देखिएको बताइएको छ।
नगरप्रमुख नागेन्द्र प्रसाद यादवको अध्यक्षतामा सम्पन्न उक्त गोष्ठीमा मलंगवा प्रादेशिक अस्पतालका नर्सिङ अधिकृत विभा यादवसहित नगरभित्रका स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ कर्मचारी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।

No comments:

Post a Comment