साउथ सिटी हिमाल हस्पिटल द्वारा गोडैतामा विशेषज्ञ स्वास्थ्य शिविर : हजारभन्दा बढी नागरिक लाभान्वित
मधेशदूत समाचारदाता----
सर्लाही,चैत २९
सर्लाहीको गोडैता नगरपालिकामा एक दिने निःशुल्क बृहत् विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ। नगरपालिकाको पहल तथा साउथ सिटी हिमाल हस्पिटल प्रा.लि. वीरगञ्जको सहकार्यमा सञ्चालन गरिएको शिविरले स्थानीय स्तरमै स्वास्थ्य सेवा पुर्याउने प्रयासलाई थप मजबुत बनाएको छ।
शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरूको सहभागितामा बिरामीहरूको स्वास्थ्य परीक्षण, आवश्यक परामर्श र औषधि वितरण निःशुल्क रूपमा गरिएको थियो। विशेषगरी ग्रामीण क्षेत्रका नागरिकलाई लक्षित गर्दै आयोजना गरिएको यस कार्यक्रममा सेवाग्राहीहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।
आयोजकका अनुसार शिविरबाट कुल १ हजार ५० जनाले सेवा लिएका छन्, जसमा ६ सय ५० पुरुष र ४ सय महिला रहेका छन्। यसले स्वास्थ्य सेवा पहुँचबाट टाढा रहेका समुदायलाई प्रत्यक्ष लाभ पुर्याएको जनाइएको छ।
कार्यक्रममा सहभागीहरूले यस्ता शिविरले स्वास्थ्यप्रति जनचेतना बढाउन महत्वपूर्ण योगदान पुर्याउने बताएका छन् भने चिकित्सकहरूले पनि ग्रामीण भेगमै पुगेर सेवा दिन पाएकोमा सन्तुष्टि व्यक्त गरेका छन्।
No comments:
Post a Comment