सर्लाहीमा ठूलो परिमाणमा अवैध काठ बरामद
मधेशदूत समाचारदाता----
सर्लाही, चैत २९
सर्लाही जिल्लामा अवैध रूपमा काठ ओसारपसार भइरहेको अवस्थामा सशस्त्र प्रहरीले एक ट्याक्टरसहित ठूलो परिमाणमा काठ बरामद गरेको छ।
जिल्लाको सिमावर्ती विष्णु गाउँपालिका–२ स्थित नदियापकडी क्षेत्रमा रहेको बिओपी बाराबाट खटिएको सशस्त्र प्रहरीको टोलीले विशेष सूचनाका आधारमा उक्त काठ फेला पारेको हो।
सशस्त्र प्रहरीका अनुसार ज १ त २९४९ नम्बरको ट्याक्टरमा गोडैताबाट फुलपरासीतर्फ लैजाँदै गरिएको १३६ क्युबिक फिट सिमल र गुलर जातको गोलिया काठ नियन्त्रणमा लिइएको हो। बरामद काठको मूल्य ६८ हजार ३३० रुपैयाँ आँकलन गरिएको छ भने प्रयोग गरिएको ट्याक्टरको मूल्य करिब १० लाख रुपैयाँ रहेको बताइएको छ।
यसरी काठ र ट्याक्टरसहित कुल १० लाख ६८ हजार ३३० रुपैयाँ बराबरको सामग्री प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
बरामद गरिएको काठ तथा ट्याक्टरलाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय, लालबन्दी सर्लाहीमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
No comments:
Post a Comment