मलंगवा नगर क्षेत्रमा सडक व्यवस्थापन र सौन्दर्यकरण अभियान सुरु, अव्यवस्थित संरचना हटाउन निर्देशन
मधेशदूत समाचारदाता---
सर्लाही, बैशाख ६
मलंगवा नगरकार्यपालिकाले नगर क्षेत्रभित्र सडक व्यवस्थापन तथा सौन्दर्यकरणलाई प्रभावकारी बनाउन विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। नगरकार्यपालिकाको चैत २६ गतेको बैठक तथा मधेश प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालय जनकपुरधामको चैत २२ गतेको पत्रानुसार यो निर्णय गरिएको हो।
नगरपालिकाले सवारी आवागमन सहज बनाउन, जनस्वास्थ्य सुधार गर्न तथा शहरको सौन्दर्य कायम राख्न ठेलागाडा, निर्माण सामग्री जथाभावी राख्ने कार्य, अनियन्त्रित हाटबजार, नाला तथा सडक किनारामा बनाइएका अनाधिकृत संरचना, फुटपाथ र टहरामा सञ्चालन भएका पसलहरूलाई व्यवस्थित गर्नुपर्ने जनाएको छ। साथै सडक किनारमा अव्यवस्थित पार्किङ तथा ट्राफिक संकेतहरूको उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिइएको छ।
त्यस्तै “शून्य फोहोर” अवधारणा कार्यान्वयन गर्दै सार्वजनिक स्थल, नदी किनार, पोखरी, नाला, धार्मिक स्थल तथा ढलमा फोहोर फाल्ने कार्य नियन्त्रण गर्न नगरपालिकाले अपिल गरेको छ। नगर क्षेत्रको सफाइ र सौन्दर्यमा असर पुर्याउने पराल, छाडा पशु चौपाया, गोबर, गोइठा, बालुवा, गिट्टी, ईंटा तथा लामो समयदेखि थन्किएका पुराना सवारी साधनहरू ७ दिनभित्र हटाउन नगरवासीलाई निर्देशन दिइएको छ।
निर्धारित समयभित्र अटेर गरी संरचना तथा अव्यवस्थित सामग्री नहटाइएमा कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी समेत नगरपालिकाले दिएको छ।
प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले नगर क्षेत्रलाई व्यवस्थित, सफा र सुरक्षित बनाउन सबै सरोकारवालाको सहयोग आवश्यक रहेकोले यसकार्यमा साथ दिन अनुरोध गर्नुभएको छ।
No comments:
Post a Comment