सर्लाहीमा ट्राफिक प्रहरी सक्रिय: चैतमा कारबाही र राजस्व दुवैमा वृद्धि
मधेशदूत समाचारदाता----
सर्लाही,बैशाख ६
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाहीले सार्वजनिक गरेको तथ्यांकअनुसार गत चैत महिनामा सवारीसाधनमाथिको कारबाही उल्लेखनीय रूपमा वृद्धि भएको छ भने दुर्घटनाबाट हुने मृत्युमा पनि कमी आएको देखिएको छ।
ट्राफिक प्रहरीको तथ्यांक अनुसार चैत महिनाभर कुल १,२४६ सवारीसाधनमाथि कारबाही गरिएको छ। तीमध्ये ट्रक ५३२, मोटरसाइकल ५०७, कार/जिप १४५, बस २२, टेम्पो २६ र टेक्टर १४ रहेका छन्।
उक्त अवधिमा जिल्लामा जम्मा १३२ सवारी दुर्घटना भएकोमा १११ सामान्य, १९ गम्भीर र ४ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ। अघिल्लो फागुन महिनाको तुलनामा चैतमा मृत्यु दर ७६.४७ प्रतिशतले घटेको ट्राफिक प्रहरीले जनाएको छ।
यस्तै, चैत मसान्तसम्म ट्राफिक कारबाहीबाट १३ लाख ५५ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ, जुन फागुन महिनाको तुलनामा ९९.७७ प्रतिशतले बढी हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाहीका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक अशोक साहका अनुसार फागुन महिनाको तुलनामा चैतमा सवारी कारबाही संख्या १०९ प्रतिशतले वृद्धि भएको हो। ट्राफिक नियम उल्लंघनमा कडाइ र नियमित चेकजाँचका कारण कारबाही तथा राजस्व दुबैमा वृद्धि भएको उनले बताए।
No comments:
Post a Comment