डिजेलको मूल्यवृद्धिले मधेशमा सिँचाइ र जोताइ दुबै महँगियो
मधेशदूत समाचारदाता---
सर्लाही, बैशाख ६
मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेसँगै त्यसको प्रत्यक्ष असर सर्लाहीसहित मधेशका किसानको खेतीपातीमा देखिन थालेको छ । पछिल्लो एक महिनामै डिजेलको मूल्य दोब्बरले बढेपछि सिँचाइदेखि खेत जोत्नेसम्मका काममा ठूलो आर्थिक दबाब सिर्जना भएको किसानले बताएका छन् ।
सर्लाहीमा हाल डिजेलको मूल्य प्रतिलिटर २३६ रुपैयाँ पुगेपछि पम्पसेट सञ्चालन गरेर सिँचाइ गर्ने किसान सबैभन्दा बढी प्रभावित भएका छन् । अहिलेको चर्को घाममा बाली सुक्न नदिन बारम्बार सिँचाइ गर्नुपर्ने अवस्था भए पनि बढ्दो इन्धन खर्चले खेती नै महँगो बनेको छ ।
यसैबीच खेत जोत्न प्रयोग हुने ट्याक्टरको भाडा पनि बढेको छ । किसानका अनुसार पहिले प्रतिघण्टा १,४०० देखि १,६०० रुपैयाँमा हुने जोताइ अहिले २,५०० रुपैयाँसम्म पुगेको छ । यसले गहुँ काटिसकेपछि बाँझो खेत तयारी गर्ने तथा चैते धान र मकै छर्ने काममा समेत असर पारेको छ ।
कबिलासी नगरपालिका–९ सलेमपुरका किसान ठगा साहका अनुसार इन्धन महँगो भएपछि खेतीको लागत असह्य बनेको छ । “पहिलेको तुलनामा जोताइ र सिँचाइ दुबैमा दोब्बर खर्च लाग्न थालेको छ,” उनले बताए ।
जिल्लामा नेपाल विद्युत प्राधिकरण र केही पालिकाहरूले कृषि विद्युतीकरण विस्तार गरिरहेका भए पनि धेरै ठाउँमा अझै बिजुलीको पहुँच नहुँदा किसानहरू पम्पसेटकै भरमा सिँचाइ गर्न बाध्य छन् । यसले इन्धन मूल्यवृद्धिको असरलाई अझै गहिरो बनाएको देखिन्छ ।
कृषि विज्ञहरूका अनुसार निरन्तर इन्धन मूल्य बढिरहेमा मधेशको कृषि उत्पादन लागत थप बढ्ने र किसानको आम्दानी घट्ने जोखिम देखिएको छ ।
No comments:
Post a Comment