मधेशमा बिचौलिया सफाया अभियान : ४० जना प्रहरीको नियन्त्रणमा / सेवामा ढिलासुस्ती गरे कडा कारबाही : डिआइजी थपलियाको चेतावनी
मनोज यादव----
सर्लाही,चैत ३०
मधेश प्रदेशमा शान्ति सुरक्षालाई थप सुदृढ बनाउने अभियानसँगै प्रहरी प्रशासनले ‘बिचौलिया’ विरुद्ध कडा एक्सन सुरु गरेको छ। सेवा प्रवाहमा अवरोध पुर्याउने, अवैध लाभ लिने र सर्वसाधारणलाई दुःख दिने गतिविधिमा संलग्न ४० जनालाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक गोविन्द थपलियाले जिल्ला प्रहरी कार्यालय मलंगवामा आयोजित नीति निर्देशन कार्यक्रममा स्पष्ट सन्देश दिँदै शान्ति सुरक्षा कायम गर्ने विषयमा कुनै सम्झौता नहुने बताएका छन्। उनले प्रहरी संगठनभित्रै अनुशासनहीनता, ढिलासुस्ती र गैरजिम्मेवारी देखिए कडा कारबाही हुने चेतावनी दिए।
उनका अनुसार पछिल्लो समय बिचौलियामार्फत हुने ठगी, सिफारिसमा चलखेल र अवैध रकम असुलीका घटनामा वृद्धि देखिएपछि निगरानी कडाइ गरिएको हो। “सुशासन कायम गर्न बिचौलियाको गलत अभ्यास अन्त्य अनिवार्य छ,” उनले भने।
प्रहरीले विशेषगरी सर्लाहीको सीमावर्ती क्षेत्रमा हुने तस्करी, लागूऔषध कारोबार र सामाजिक अपराध नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ। यसका लागि सूचना संकलन, अन्तर-समन्वय र प्रविधिको प्रयोगलाई थप प्रभावकारी बनाउने रणनीति अघि सारिएको छ।
डिआइजी थपलियाले मातहतका प्रहरी युनिटहरूलाई आफ्नो कार्यक्षेत्रमा देखिने परिणाम दिन निर्देशन दिँदै नागरिकमैत्री सेवा प्रवाहमा जोड दिएका छन्। उनले इमान्दार, अनुशासित र जिम्मेवार कार्यशैली अपनाउन प्रहरी कर्मचारीलाई आग्रह गरे।
प्रहरीले सर्वसाधारणलाई पनि सचेत रहन आग्रह गर्दै कुनै पनि शंकास्पद गतिविधि देखिए नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अपिल गरेको छ। मधेश प्रदेशका आठै जिल्लामा बिचौलिया विरुद्धको अभियान अझ कडाइका साथ अगाडि बढाइने जनाइएको छ।
No comments:
Post a Comment