Translate

Sunday, April 12, 2026

भारतीय सवारी प्रतिबन्धले सर्लाहीमा तनाव: जनजीवन प्रभावित, राजनीतिक दलहरु द्वारा आन्दोलनको चेतावनी

 




मधेशदूत समाचारदाता---
सर्लाही, चैत ३०

    भारतीय नम्बर प्लेटका सवारी साधनमाथि लगाइएको प्रतिबन्ध र कडाइका कारण सर्लाहीका सीमावर्ती क्षेत्रको जनजीवन प्रभावित बनेको छ भने राजनीतिक दलहरू आन्दोलनतर्फ उन्मुख भएका छन्। आइतवार मलंगवामा सम्पन्न सर्वदलीय बैठकले सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल पुनर्विचार गर्न माग गरेको छ।
     दलहरूले नेपाल–भारतबीच सदियौँदेखि कायम रहेको बेटी–रोटी सम्बन्धमा यस निर्णयले प्रतिकूल असर पार्ने निष्कर्ष निकालेका छन्। उनीहरूका अनुसार सीमावर्ती नागरिकहरूको दैनिक आवतजावत, व्यापार, स्वास्थ्य सेवा र पारिवारिक सम्बन्धमा प्रत्यक्ष असर परेको छ। वर्षौँदेखि ३० किलोमिटर क्षेत्रभित्र भारतीय सवारी सहज रूपमा सञ्चालन हुँदै आएको सन्दर्भमा अहिलेको प्रतिबन्धले अनावश्यक झन्झट र खर्च बढाएको गुनासो गरिएको छ।
   सर्वदलीय प्रेस विज्ञप्तिमा जिल्ला प्रशासन कार्यालय सर्लाहीले शान्ति सुरक्षाको नाममा नियोजित रूपमा सेवा बन्द गर्न खोजेको आरोप लगाइएको छ। साथै, बिना भन्सार सवारी सञ्चालनमा रोक लगाउने मानसिकताप्रति पनि असन्तुष्टि व्यक्त गरिएको छ।

 दलहरूले भारतीय नम्बर प्लेटका सवारीलाई पूर्ववत् रूपमा सञ्चालन गर्न प्रशासनसँग आग्रह गरेका छन्। माग सम्बोधन नभए चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी पनि दिइएको छ।
   उक्त विज्ञप्तिमा नेकपा (एमाले) का जिल्ला अध्यक्ष राजनारायण साह, नेकपाका जिल्ला इन्चार्ज अच्युतम काफ्ले, राप्रपा नेपालका जिल्ला अध्यक्ष सत्यनारायण यादव, जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष रामप्रसाद यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालका जिल्ला अध्यक्ष गणेश कुमार यादव, जसपाका जिल्ला अध्यक्ष शम्भु यादव तथा उज्यालो नेपालका जिल्ला उपाध्यक्ष राम स्वार्थ महतो ले हस्ताक्षर गरेका छन्।
   समग्रमा, यो विषय सर्लाहीमा प्रशासनिक निर्णयभन्दा बाहिर निस्केर सामाजिक, आर्थिक र राजनीतिक बहसको मुख्य मुद्दा बन्दै गएको देखिन्छ।

No comments:

Post a Comment