Translate

Saturday, April 4, 2026

सर्लाहीको ब्रह्मपुरी-५ मा सशस्त्रको छापा : गोदामबाट सय कार्टुन अवैध काँचो केरा बरामद , तस्करीको अड्डा बन्दै सिमावर्ती गाउँ

 



मधेशदूत समाचारदाता---
सर्लाही, चैत २२

    सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–५ सखुअबामा सशस्त्र प्रहरीले सय कार्टुन अवैध काँचो केरा बरामद गरेको छ। शनिबार बिहान करिब १० बजे अजय दासको गोदामबाट उक्त परिमाणको केरा बरामद गरि नियन्त्रणमा लिइएको हो ।
    सशस्त्र प्रहरी बल, बोर्डर आउट पोस्ट (बिओपी) सखुअबाबाट प्रहरी नायब निरीक्षक पुष्कर रिमालको कमान्डमा खटिएको ५ जनाको टोलीले गोदाममा छापा मारेर सो परिमाणको काँचो केरा बरामद गरेको जनाएको छ। बरामद गरिएका सामानलाई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय सर्लाही पठाइएको छ।
    स्थानीयका अनुसार ब्रहम्पुरी–५ सखुअबा क्षेत्र पछिल्लो समय तस्करीको मुख्य केन्द्र बन्दै गएको छ। करिब ६ सय मिटरको दूरीभित्र रहेका तीन वटा गोदाममध्ये दुई वटा कबाडी र एउटा धान–गेहुँ भण्डारणका लागि प्रयोग हुने गरिएको छ। ती गोदामहरूबाट राज्यकोष छल्ने उद्देश्यले अवैध कारोबार हुने गरेको स्थानीयको दाबी छ।
   त्यसैगरी, करिब १५० मिटरको दूरीमा रहेको अर्को गोदाममा कबाडी र खाद्यान्न सामग्री एकै स्थानमा राखी तस्करी भइरहेको जानकारी समेत बाहिरिएको छ। स्थानीय बासिन्दाले दिनरात अवैध गतिविधि सञ्चालन भइरहेको र सम्बन्धित निकायको उपस्थिति हुँदा पनि यस्तो कार्य नरोकिएको गुनासो गरेका छन्।
    तस्करीका गतिविधिले राज्यको राजस्वमा क्षति पुग्नुका साथै स्थानीय स्तरमा असुरक्षा र अव्यवस्था बढाउने भएकाले सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ।

No comments:

Post a Comment