“भ्रष्टाचारविरुद्धको अभियानमा मेरो पूर्ण समर्थन” : डा. अमरेश सिंह
मधेशदूत समाचारदाता
सर्लाही, चैत २२
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुरु गरिएको सुशासन तथा भ्रष्टाचारविरुद्धको अभियानप्रति आफ्नो पूर्ण समर्थन रहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले सरकार गठनसँगै सुरु भएको कारबाही र सुशासनको अभ्यास आम नागरिकले महसुस गर्न थालेको उल्लेख गरेका छन्।
उनले आफूले विगत केही वर्षदेखि निरन्तर उठाउँदै आएका विषयहरूमा सरकारले चासो दिँदै कारबाही अगाडि बढाएकोप्रति सन्तुष्टि व्यक्त गरे। “मैले उठाउँदै आएका मुद्दाहरूमा कारबाही सुरु भएकोमा खुसी लागेको छ,” उनले भनेका छन्, “यो अभियानलाई निरन्तरता दिन सरकारलाई मेरो साथ र समर्थन रहिरहनेछ।”
डा. सिंहले परिवर्तनका लागि सरकार मात्र सक्रिय भएर नहुने भन्दै नागरिकको समान भूमिका आवश्यक रहेकोमा जोड दिएका छन्। उनले सबैलाई सरकारसँग सहकार्य गर्दै सकारात्मक ऊर्जा प्रदान गर्न आग्रह गरेका छन्।
“परिवर्तन सफल बनाउन सरकार र नागरिकबीच सहकार्य जरुरी छ,” उनले भने, “यस अभियानलाई सफल बनाउन सबै नेपाली एकजुट भएर अघि बढ्नुपर्छ।”
उनले अन्त्यमा सुशासनको अभियानलाई सुदृढ बनाउन सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आह्वानसमेत गरेका छन् ।
No comments:
Post a Comment