सर्लाहीमा शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन सम्बन्धी ३ दिने प्रशिक्षक तालिम
मनोज यादव---
सर्लाही, चैत २२
शीघ्र कुपोषणको रोकथाम, पहिचान तथा प्रभावकारी व्यवस्थापनलाई सुदृढ बनाउने उद्देश्यले सर्लाहीमा ३ दिने जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ। स्वास्थ्य कार्यालय सर्लाहीको आयोजनामा चैत १९ देखि २१ गतेसम्म मलंगवास्थित महिन्द्रा होटलमा तालिम सञ्चालन गरिएको हो।
हेलन केलर इन्टरनेशनलको सहयोग तथा राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र मलंगवाको सहकार्यमा आयोजित उक्त तालिममा जिल्लाका २० वटै पालिकाका स्वास्थ्य शाखा प्रमुखहरूको सहभागिता रहेको थियो।
तालिमको उद्देश्य स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई दिइने तालिमका लागि सहभागीहरूको ज्ञान, सीप तथा क्षमता अभिवृद्धि गर्नुका साथै शीघ्र कुपोषण व्यवस्थापन कार्यक्रममा समन्वय, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्यांकन, समीक्षा तथा प्रतिवेदन तयारीमा दक्ष बनाउनु रहेको थियो।
यसैगरी कार्यक्रम सञ्चालनका क्रममा आउने चुनौतीहरूको पहिचान तथा समाधानका उपायहरू विकास गर्नु, समुदायस्तरमा कुपोषित बालबालिकाको पहिचान गरी सम्बन्धित निकायमा प्रेषण तथा व्यवस्थापन गर्न सक्ने बनाउनु र अन्य निकाय तथा कार्यक्रमसँग समन्वय गर्दै कडा तथा मध्यम खालका शीघ्र कुपोषणको व्यवस्थापनमा सक्षम बनाउने लक्ष्य राखिएको थियो।
तालिम अवधिभर सहभागीहरूलाई सामूहिक समझदारी तथा मान्यता निर्धारण, नेपालमा ५ वर्षमुनिका बालबालिकाको पोषण अवस्था, राष्ट्रिय पोषण नीति, रणनीति तथा कार्यक्रमहरू, पोषण र कुपोषणको परिभाषा, वर्गीकरण, कारण, लक्षण तथा परिणामबारे विस्तृत जानकारी दिइएको थियो।
यस्तै, शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रमको पृष्ठभूमि, सिद्धान्त तथा सेवाहरूका साथै ६ महिनाभन्दा कम उमेरका शिशुहरूको ट्रियाज, लेखाजोखा, पहिचान, उपयुक्त हेरचाह, बहिरंग सेवामा व्यवस्थापन, निर्देशन, स्थानान्तरण, प्रेषण, अनुगमन भेट तथा अन्तरंग सेवाको परिचय र उपचार पद्धतिबारे प्रशिक्षण प्रदान गरिएको थियो।
६ देखि ५९ महिनासम्मका शिशु तथा बालबालिकाको ट्रियाज, लेखाजोखा, पहिचान तथा उपयुक्त हेरचाह, शारीरिक मापनमार्फत कुपोषण पत्ता लगाउने तरिका, उचाइअनुसार तौल निकाल्ने अभ्यास, खाना रुचि परीक्षण, बहिरंग तथा अन्तरंग उपचार छनोट, सेवाका लागि निर्णय प्रक्रिया, दर्ता तथा प्रणालीबद्ध औषधीय उपचारका विषयमा व्यवहारिक अभ्याससमेत गराइएको थियो।
साथै तयार पारिएको उपचारात्मक खानाबाट कडा शीघ्र कुपोषणको उपचार, ६–५९ महिनाका बालबालिकाको अनुगमन, स्थानान्तरण, प्रेषण तथा बहिर्गमन प्रक्रिया, मध्यम खालको शीघ्र कुपोषण व्यवस्थापन, एचआईभी संक्रमित बालबालिकाको व्यवस्थापन तथा गर्भवती र सुत्केरी महिलामा देखिने कुपोषणको व्यवस्थापनबारे पनि जानकारी दिइएको थियो।
कमजोर वृद्धि तथा विकासको जोखिममा रहेका ६ महिनाभन्दा कम उमेरका शिशुहरूको अन्तरंग व्यवस्थापन, ६–५९ महिनाका बालबालिकाको अन्तरंग सेवामा व्यवस्थापन, मनोसामाजिक उत्प्रेरणा, समुदायस्तरमा कुपोषण व्यवस्थापन, समुदाय परिचालन, सचेतिकरण, केस पहिचान तथा प्रेषण संयन्त्रका विषयमा समेत तालिम केन्द्रित थियो।
यसैगरी समुदायस्तरमा तालिम सञ्चालन, स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका, कुपोषणबाट निको भइसकेपछि गरिनुपर्ने क्रियाकलाप, कार्यक्रमको सुपरिवेक्षण तथा अनुगमन, स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा पोषण सूचकहरू तथा पोषण परामर्शमार्फत कुपोषण रोकथामका उपायहरूबारे समेत प्रशिक्षण दिइएको थियो।
तालिममा हेलन केलर इन्टरनेशनलका कन्सल्टेन्ट श्रीकृष्ण बस्नेत, शिवशंकर चौबे तथा प्रदेश स्वास्थ्य तालिम केन्द्रका राकेश रौनियारले सहजीकरण गर्नुभएको थियो।
शनिबार सम्पन्न समापन कार्यक्रममा स्वास्थ्य कार्यालय सर्लाहीका तथ्यांक अधिकृत लालबाबु यादवको अध्यक्षता रहेको थियो भने राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शिवजी प्रसाद साह प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रमको सञ्चालन जनस्वास्थ्य अधिकृत सुशील कुमार झाले गर्नुभएको थियो।
आयोजकका अनुसार तालिमबाट प्रशिक्षित जनशक्तिमार्फत जिल्लामा शीघ्र कुपोषणको पहिचान, उपचार, अनुगमन र व्यवस्थापन कार्य अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।
No comments:
Post a Comment