सार्वजनिक शिक्षामा सुधारका लागि सर्लाहीमा विश्वव्यापी अभियान सुरु
मधेशदूत समाचारदाता----
मलंगवा, बैशाख ९
शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह २०२६ अन्तर्गत सर्लाही जिल्लामा अभियान सुरु गरिएको छ। शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, जिल्ला समिति सर्लाहीको आयोजनामा मंगलबार मलंगवाको सहिद चौकमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा जिल्ला संयोजक, अधिवक्ता तथा अधिकारकर्मी राजेश पासवानको अगुवाइ रहेको थियो। कार्यक्रममा एसिया टप प्रधानाध्यापक डा. वीरबंस बैठा, नागरिक समाजका महासचिव शिवचन्द्र चौधरी, प्रधानाध्यापक सन्तोष कर्ण, बाल कल्याण समाजका अध्यक्ष सुन्दर श्याम राय, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका कार्यक्रम अधिकृत गोविन्द कुमार पासवान, विद्यार्थी नितेश पण्डित, बाल संरक्षण संस्थाका प्रतिनिधि शक्ति सिंह पासवान तथा सामाजिक विकास केन्द्रका प्रतिनिधि राजीव कुमार कुशवाहालगायत दर्जनौँ सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।
अभियानको मुख्य उद्देश्य स्थानीय, प्रदेश तथा संघीय सरकारसँगै राजनीतिक दलहरूलाई सार्वजनिक शिक्षामा सुधार ल्याउन प्रेरित गर्नु रहेको आयोजकले जनाएको छ। साथै शिक्षा क्षेत्रमा पर्याप्त तथा दिगो र न्यायपूर्ण वित्तीय लगानी सुनिश्चित गर्दै सार्वजनिक शिक्षा प्रणालीलाई सुदृढ बनाउन रचनात्मक दबाब सिर्जना गर्ने लक्ष्य रहेको छ।
कार्यक्रममा सहभागीहरूले गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सरकार गम्भीर बन्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले सार्वजनिक शिक्षाको वर्तमान अवस्थालाई सुधार गर्दै सबैका लागि समान र पहुँचयोग्य शिक्षा प्रणाली विकास गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।
अभियानअन्तर्गत आगामी दिनहरूमा विभिन्न सचेतनामूलक कार्यक्रम, अन्तरक्रिया तथा दबाबमूलक गतिविधिहरू सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ।
No comments:
Post a Comment