Translate

Thursday, April 2, 2026

नवलपुर–मलंगवा सडकको कथा: सडक निर्माणको जिम्मा लिएको कम्पनी फरार भएपछि एक दशक भन्दा बढी समयदेखि बेवारिसे निर्माण सामग्री, स्थानीय अझै क्षतिपूर्तिको पर्खाइमा

 



मनोज यादव---
सर्लाही, चैत २०

    सर्लाहीको हरिपुर नगरपालिका–४, लक्ष्मीपुरमा भारतीय निर्माण कम्पनीले छाडेर गएको गाडी र निर्माण  सामग्री केवल बेवारिसे वस्तु मात्र होइनन्, स्थानीयका लागि वर्षौँदेखिको पीडा र अन्यायको प्रतीक बनेका छन्। करिब १३ वर्षअघि सडक निर्माणको जिम्मा लिएर आएको कम्पनी बीचमै सम्पर्कविहीन भएपछि त्यसको प्रत्यक्ष असर यहाँका जग्गाधनी, व्यवसायी र सर्वसाधारणले अझै भोगिरहेका छन्।
    सडक छेउमै थन्किएका आठ वटा टिप्पर अहिले खिया लागेर काम नलाग्ने अवस्थामा पुगेका छन्। तर ती गाडीभन्दा ठूलो समस्या तिनले ओगटेको जमिन र त्यसले सिर्जना गरेको आर्थिक क्षति हो। स्थानीयका अनुसार, गाडी र निर्माण सामग्रीका कारण खेतीयोग्य जमिन वर्षौँदेखि बाँझो बनेको छ।
हरिपुर नगरपालिकाका पूर्वनगरप्रमुख जमिरुद्दिन मन्सुर भन्छन्, “कम्पनीले मेरो साढे तीन बिघा जग्गा प्रयोग गर्‍यो, ५० लाखभन्दा बढी भाडा अझै पाउन बाँकी छ। अदालतबाट फैसला आए पनि कार्यान्वयन नहुँदा झन् निराशा बढेको छ।” उनका अनुसार गिट्टी, बालुवाले ढाकिएको जमिनमा खेती गर्नसमेत असम्भव भएको छ।
    यस्तै, स्थानीय व्यवसायीहरू पनि कम्पनीको उधारो नउठ्दा समस्यामा परेका छन्। लालबन्दीका एक पेट्रोल पम्प सञ्चालकले २५ लाख रुपैयाँभन्दा बढी इन्धन बापतको रकम अझै नपाएको गुनासो गरे। “प्रशासनदेखि राजदूतावाससम्म धाएँ, तर नतिजा शून्य भयो,” उनले भने, “अब त पैसा पाउने आश नै हराइसक्यो।”
  स्थानीय होटल, पसल र सामग्री आपूर्तिकर्ताहरूले समेत कम्पनीका कामदारलाई दिएको उधारो अझै उठाउन सकेका छैनन्। यसले साना व्यवसायीलाई झन् आर्थिक रूपमा कमजोर बनाएको उनीहरूको भनाइ छ।
   सरकारी निकाय भने यस विषयमा प्रष्ट जवाफ दिन सकेका छैनन्। हुलाकी सडक आयोजनासँग सम्बन्धित अधिकारीका अनुसार प्रारम्भिक ठेक्का र कम्पनीसम्बन्धी विवरण अभिलेखमै नभएकाले समस्या समाधान जटिल बनेको छ। पछि नेपाली कम्पनीमार्फत सडक कालोपत्रे सम्पन्न भए पनि पुरानो हिसाब–किताब भने अझै अलपत्र नै छ।
स्थानीय बासिन्दा र नागरिक समाजका प्रतिनिधिहरूले यस विषयमा बारम्बार आवाज उठाए पनि ठोस पहल नहुँदा पीडितहरू निराश छन्। उनीहरू भन्छन्—सरकारले चासो नदिएसम्म न त जग्गा फिर्ता हुने छ, न त वर्षौँदेखि रोकिएको रकम नै उठ्नेछ।
   लक्ष्मीपुरका लागि यी खिया लागेका गाडी केवल पुराना संरचना होइनन्, बरु राज्यको बेवास्ता र अधुरो विकासको जीवित उदाहरण बनेका छन्।

No comments:

Post a Comment