मनोज यादव---
सर्लाही,वैशाख १३
सर्लाहीको लालबन्दी नगरपालिका–३, जब्दीलाई नेपालकै पहिलो मर्यादित महिनावारीमैत्री वडा घोषणा गरिएको छ। सरकारी निर्देशिकाअनुसार आवश्यक मापदण्ड पूरा गरेपछि शुक्रवार एक विशेष समारोहका बीच उक्त घोषणा गरिएको हो।
यस उपलब्धिका लागि वडा कार्यालय, नगरपालिका, बाल संरक्षण संस्था तथा राधा पौडेल फाउण्डेसनले विगत दुई वर्षदेखि निरन्तर रूपमा सचेतनामूलक अभियान सञ्चालन गर्दै आएका थिए। अभियानअन्तर्गत महिनावारीसम्बन्धी गलत धारणा हटाउने, छुवाछुत तथा विभेद अन्त्य गर्ने र समुदायमा खुला संवाद बढाउने कार्यहरू गरिएका थिए।
बाल संरक्षण संस्थाकी अध्यक्ष राधा घिमिरेका अनुसार अभियानपछि समुदायमा उल्लेखनीय परिवर्तन आएको छ। अहिले महिलामाथि महिनावारीका कारण कुनै प्रकारको विभेद नगर्ने, घर, विद्यालय र समुदायमा यस विषयमा खुला छलफल गर्ने, तथा महिला–पुरुष दुवैले समान रूपमा विषयलाई बुझ्ने वातावरण बनेको छ। साथै विद्यालय र कार्यालयहरूलाई महिनावारीमैत्री बनाउने, सरसफाइमा ध्यान दिने र भित्ते लेखनमार्फत जनचेतना फैलाउने कामसमेत गरिएको उनले बताइन्।
स्थानीय बाल क्लबकी शिवानी चौधरीले पनि अहिले महिनावारीलाई प्राकृतिक प्रक्रिया रूपमा बुझ्ने चेतना बढेको बताउँदै यस क्रममा कुनै छेकबार वा भेदभाव नरहेको उल्लेख गरिन्।
कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य नीतिमा भण्डारी कार्कीले महिनावारीलाई रोकछेक गर्ने विषय नभई सरसफाइ र स्वास्थ्यसँग जोडेर हेर्नुपर्ने धारणा व्यक्त गरिन्। यस्तै, मधेश प्रदेश सभा सदस्य बेची लुंगेली मगरले आफ्नो समुदायमा महिनावारीका नाममा विभेद गर्ने परम्परा नरहेको बताइन्।
वडाध्यक्ष वुद्धदेव चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरप्रमुख वासुदेव अधिकारी, उपप्रमुख कल्पनामाया पाख्रिन, प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइँटेललगायतको उपस्थिति रहेको थियो।
यसैबीच, लालबन्दी नगरपालिका–९ बस्तीपुर र वडा नं. १० चन्द्रपुरलाई पनि निकट भविष्यमा मर्यादित महिनावारीमैत्री वडा घोषणा गर्ने लक्ष्यका साथ वडा, पालिका तथा विभिन्न संघसंस्थाहरूले संयुक्त रूपमा अभियानलाई अगाडि बढाइरहेका छन्।

No comments:
Post a Comment