बरहथवामा अस्पताल अनुगमन: ५ संस्था सिलबन्दी, ४ लाई सुधारको निर्देशन
मधेशदूत समाचारदाता---
सर्लाही, बैशाख १३
जिल्ला प्रशासन सर्लाही र इलाका प्रहरी कार्यालय बरहथवाले जिल्लाको बरहथवा बजार क्षेत्रमा सञ्चालित अस्पताल तथा क्लिनिकहरूको अनुगमन गर्दै कानुनी प्रक्रिया नपुर्याएका ५ वटा स्वास्थ्य संस्था सिलबन्दी गरेको छ।
इप्रका बरहथवाको समन्वयमा शुक्रवार बिहान १० बजेबाट सुरु गरिएको अनुगमनको अगुवाई सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले गरेका थिए
अनुगमनका क्रममा कानुनअनुसार दर्ता तथा सञ्चालन प्रक्रिया पूरा नगरेका आयुष्मान हेल्थ केयर, सगरमाथा ल्याब, युनिक हस्पिटल, जनसेवा ल्याब र स्माइल सरोकार डेन्टल प्रा.लि. लाई सिलबन्दी गरिएको जनाइएको छ।
त्यस्तै, मापदण्डअनुसार सञ्चालन भइरहेका तर केही सुधार आवश्यक देखिएका साह हेल्थ एण्ड डेन्टल प्रा.लि., श्री हेल्थ च्वाइस क्लिनिक, ह्याप्पी हस्पिटल प्रा.लि. र श्री भेनस हेल्थ केयर प्रा.लि. लाई आवश्यक सुधारको लागि निर्देशन दिइएको प्रहरीले जनाएको छ।
स्थानीय स्तरमा स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न तथा अवैध रूपमा सञ्चालन भइरहेका संस्थाहरूलाई नियन्त्रण गर्न यस्तो अनुगमनलाई निरन्तरता दिइने स.प्र.जि.अ घिमिरेले जनाएको छ।
No comments:
Post a Comment