स्थानीय तह निष्क्रिय हुँदा बसवरिया–६ का युवाले आफैं बनाए सडक
मनोज यादव---
सर्लाही, चैत १०
सर्लाहीको बसवरिया गाउँपालिका वडा न–६ स्थित महरानी माई मन्दिर जाने मनटोला सडक स्थानीय युवाहरूले स्वयं मर्मत गरेका छन्।
लामो समयदेखि जीर्ण बनेको उक्त सडक करिब १० महिनादेखि आवतजावतका लागि कठिन बन्दै आएको थियो। सम्बन्धित गाउँपालिका तथा वडा कार्यालयबाट कुनै पहल नभएपछि स्थानीय युवाहरू आफैं जुटेर सडक मर्मत गरेका हुन्। स्थानीय युवाहरूले बिकेश मण्डलको खेतदेखि पाचु मण्डलको खेतसम्म करिब ३०० मिटर सडक मर्मत गरेका छन्। सो कार्यमा कुल ८६ हजार रुपैयाँ खर्च भएको स्थानीय जयनारायण रायले जानकारी दिए।
सडक मर्मतमा स्थानीय जयनारायण राय, दिपेन्द्र राय, उमेश राय, राजकुमार मण्डल, सुरेन्द्र पासवान, सतन पासवान, सिताराम राय, अजय साह र जयराम राय लगायतका युवाहरूको सक्रिय सहभागिता रहेको थियो।
स्थानीय तहको बेवास्ताका बीच नागरिक आफैं अग्रसर भई गरेको यो कार्यलाई स्थानीयवासीले उदाहरणीय पहलका रूपमा लिएका छन्।
No comments:
Post a Comment