ईश्वरपुरमा सामाजिक सेवाको नयाँ अभियान : ‘लायन्स क्लब अफ मधेश ईश्वरपुर हेल्पिङ ह्याण्ड’ गठन
मधेशदूत समाचारदाता----
सर्लाही, चैत १०
सर्लाहीको ईश्वरपुर मा सामाजिक सेवामुखी गतिविधिलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित नयाँ लायन्स क्लब गठन गरिएको छ।
ईश्वरपुर नगरपालिका–६ बयलवासस्थित गल्ला व्यापार संघको भवनमा सोमबार आयोजित कार्यक्रममार्फत ‘लायन्स क्लब अफ मधेश ईश्वरपुर हेल्पिङ ह्याण्ड’ को औपचारिक स्थापना गरिएको हो।
Lions Clubs International अन्तर्गतको ३२५ एच डिष्ट्रिकमा आबद्ध रहने उक्त क्लबले स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य, वातावरण तथा मानवीय सेवाका क्षेत्रमा काम गर्ने लक्ष्य राखेको जनाएको छ।
एरिया को–अर्डिनेटर राजकुमार न्यौपानेका अनुसार क्लब गठनसँगै ईश्वरपुर क्षेत्रमा सामाजिक उत्तरदायित्व बहन गर्ने अभियानले थप गति लिने अपेक्षा गरिएको छ। नवगठित क्लबको अध्यक्षमा डा. आलोक कुशवाहा चयन भएका छन् भने अन्य पदाधिकारी तथा सदस्यहरू समेत समावेश गरिएको छ। अध्यक्षसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूको सपथ ग्रहण यसै कार्यक्रममा गराइएको थियो।
मातृ संस्था ‘लायन्स क्लब अफ लालबन्दी सिटी’ का अध्यक्ष रेवन्तराज तिमल्सिनाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा ३२५ एच डिष्ट्रिकका गभर्नर रवीन्द्रबहादुर प्रधान प्रमुख अतिथि तथा ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्य विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
मनोज बख्रेलले सञ्चालन गरेको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न वडाध्यक्ष, लायन्स क्लबका पूर्व तथा वर्तमान पदाधिकारी तथा अन्य संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नयाँ क्लब गठनसँगै ईश्वरपुरमा विपन्न तथा असहाय वर्गलाई लक्षित गर्दै स्वास्थ्य शिविर, शैक्षिक सहयोग, सरसफाइ अभियान लगायतका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
No comments:
Post a Comment