सर्लाहीका सीमाक्षेत्रमा दिनहुँ तस्करी ,हजारौं केजी चाइनिज स्याउ पिकअपसहित SSB को नियन्त्रणमा
मधेशदूत समाचारदाता---
सर्लाही, चैत १०
सर्लाही जिल्लाका विभिन्न सीमावर्ती नाकाहरू हुँदै अवैध तस्करीका गतिविधि बढ्दो क्रममा रहेको पाइएको छ। पछिल्लो समय विदेशी तथा भारतीय सामानहरू ठूलो परिमाणमा चोर बाटो प्रयोग गरी ओसारपसार भइरहेको स्थानीय स्रोतहरूले बताएका छन्।
जिल्लाको संग्रामपुर, नारायणपुर, पर्सा, त्रिभुवननगर, मलंगवा, भाँडसर, सिमरा, मधुवनी, अर्नाहा लगायतका नाकाहरूबाट दैनिक रूपमा लाखौं रुपैयाँ बराबरका सामान नेपाल–भारतबीच तस्करी हुने गरेको जनाइएको छ।
यसैबीच, भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ५१औँ बटालियनले हनुमाननगर नाकामा ठूलो परिमाणमा तस्करी सामान नियन्त्रणमा लिएको छ। एसएसबीको टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरिएको अवस्थामा ३,५१५ केजी चाइनिज स्याउसहित दुई वटा महिन्द्रा पिकअप गाडी नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको स्याउ र सवारीसाधनलाई आवश्यक कारबाहीका लागि भारतस्थित सोनवर्सा भन्सार कार्यालयमा बुझाइएको जनाइएको छ।
स्थानीय स्रोतका अनुसार सीमाक्षेत्रमा संगठित रूपमा तस्करी धन्दा सञ्चालन भइरहेको छ। केही व्यक्तिहरूले तस्करहरूलाई ‘लाइन’ दिएर हप्ता तथा महिनावारी रकम संकलन गर्ने र सम्बन्धित निकायसम्म पुर्याउने गरेको आरोप छ। जसका कारण जिल्लामा तस्करी नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताइएको छ।
No comments:
Post a Comment