बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
मधेशदूत समाचारदाता---
सर्लाही, चैत २
सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुर बागवानीस्थित पूर्व–पश्चिम राजमार्गमा बसले ठक्कर दिँदा एक मोटरसाइकल चालकको मृत्यु भएको छ।
दुर्घटनामा पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–१ छपकैया घर भई हाल नवलपुरमा बस्दै आएका ३४ वर्षीय सुनिल महतोको मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार महतो प्रदेश २–०३–०१५ प ३३९६ नम्बरको मोटरसाइकल लिएर लालबन्दीबाट नवलपुरतर्फ जाँदै थिए। सोही क्रममा विराटनगरबाट काठमाडौं जाँदै गरेको लु. प ०३–००१ ख ०४३० नम्बरको रात्रि बसले पछाडिबाट ठक्कर दिएको थियो।
बसको ठक्करबाट गम्भीर घाइते भएका महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लालबन्दीमा राखेर थप अनुसन्धान गरिरहेको छ।
No comments:
Post a Comment