एलपी ग्यासको बिक्री–वितरण व्यवस्थित बनाउन प्रशासनको चेतावनी
मधेशदूत समाचारदाता---
सर्लाही, चैत २
सर्लाहीमा एलपी ग्यासको बजारमा अभाव भएको भन्ने गुनासो बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले ग्यासको बिक्री–वितरण व्यवस्थित बनाउन कडा चेतावनी जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय मलंगवाले आइतबार एक सूचना जारी गर्दै ग्यास अभावको विषयमा विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचार तथा उपभोक्ताबाट प्राप्त मौखिक गुनासाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सूचनामा हल्लाको भरमा आवश्यकता भन्दा बढी एलपी ग्यास भण्डारण गर्ने, ग्यास उपलब्ध हुँदाहुँदै पनि नभएको भन्दै उपभोक्तालाई सास्ती दिने, बढी मूल्य लिएर कालोबजारी गर्ने जस्ता क्रियाकलाप नगर्न व्यवसायीलाई सचेत गराइएको छ।
यस्ता गतिविधि गरेको पाइएमा जिल्ला प्रशासन कार्यालयबाट खटिएको अनुगमन टोलीले उपभोक्ता संरक्षण ऐन, २०७५ तथा कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम कडा कारबाही गर्ने प्रशासनले जनाएको छ।
निमित्त प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेद्वारा जारी सूचनामा उपभोक्तालाई सहज सेवा उपलब्ध गराउन ग्यासको निर्धारित मूल्य र परिमाणमा निर्वाध रूपमा बिक्री–वितरण गर्न सम्बन्धित सबै व्यवसायी तथा सरोकारवालालाई आग्रह गरिएको छ।
No comments:
Post a Comment