कमजोर कार्यसम्पादनले सर्लाहीका धेरै पालिका ५० अङ्क कटाउन सकेनन्, लालबन्दी अग्रस्थानमा
मधेशदूत समाचारदाता
सर्लाही, चैत २
सर्लाहीका अधिकांश स्थानीय तहको कार्यसम्पादन कमजोर देखिएको छ। आर्थिक वर्ष २०८१/८२ का लागि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्याङ्कनमा जिल्लाका २० स्थानीय तहमध्ये आधाभन्दा बढीले ५० अङ्कसमेत कटाउन नसकेको तथ्य सार्वजनिक भएको हो।
मूल्याङ्कन अनुसार ७०.२१ अङ्क प्राप्त गर्दै लालबन्दी नगरपालिका जिल्लामै पहिलो स्थानमा परेको छ। त्यस्तै ६४.३८ अङ्कसहित बरहथवा नगरपालिका दोस्रो र ६२.०१ अङ्कसहित हरिवन नगरपालिका तेस्रो स्थानमा रहेका छन्।
त्यसपछि क्रमशः हरिपुर नगरपालिका (६१.१६), कौडेना गाउँपालिका (५९.१८), बागमती नगरपालिका (५८.२०), विष्णु गाउँपालिका (५४.३४), धनकौल गाउँपालिका (५३.३७), चक्रघट्टा गाउँपालिका (५१.८०) र बलरा नगरपालिका (५०.२६) अङ्कसहित शीर्ष दसमा परेका छन्।
तर जिल्लाका अन्य १० स्थानीय तहले भने ५० अङ्कसमेत कटाउन सकेनन्। तीमध्ये मलङ्गवा नगरपालिका ले ४९.२५, चन्द्रनगर गाउँपालिका ले ४८.१५, ईश्वरपुर नगरपालिका ले ४६.८३, पर्सा गाउँपालिका ले ४६.०७, बसबरिया गाउँपालिका ले ४५.६१, ब्रह्मपुरी गाउँपालिका ले ४४.५० र गोडैता नगरपालिका ले ४३.९६ अङ्क प्राप्त गरेका छन्।
सबैभन्दा कमजोर कार्यसम्पादन गर्ने स्थानीय तहमा हरिपुर्वा नगरपालिका (४२.७८), कविलासी नगरपालिका (४२.३५) र रामनगर गाउँपालिका (४०.५३) रहेका छन्।
वित्त आयोगले स्थानीय तहले आर्थिक वर्ष २०८१/८२ को राजस्व तथा व्ययको अनुमान समयमै गाउँ वा नगरसभामा पेस गरे/नगरेको, वित्तीय अनुशासन, पारदर्शिता लगायतका १७ वटा सूचकका आधारमा कार्यसम्पादन मूल्याङ्कन गर्ने गरेको छ।
यसैबीच वासुदेव अधिकारीले जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाको संयुक्त प्रयासका कारण लालबन्दी नगरपालिका जिल्लामै पहिलो हुन सफल भएको बताउँदै आगामी दिनमा अझ पारदर्शी र नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिइने बताएका छन्।
No comments:
Post a Comment