चुनाव हारे पनि वाचा पूरा गर्दै कृष्णा यादव : गरिब परिवारकी छोरीको विवाहमा खाद्यान्न सहयोग
मधेशदूत समाचारदाता----
सर्लाही,चैत १
मलंगवा नगरपालिका वडा नं–९ टावर चोक निवासी उमेश साह र अनिता देवी साहकी छोरी अस्मिता साहको विवाहकालागि हिन्दु सम्राट सेना नेपालले खाद्यान्न सामग्री सहयोग गरेको छ।
आर्थिक रूपमा कमजोर अवस्थाका कारण विवाह व्यवस्थापनमा कठिनाइ भइरहेको परिवारलाई सहयोगस्वरूप संस्थाका केन्द्रीय उपाध्यक्ष कृष्णा यादव सहितका सदस्यहरूले आवश्यक खाद्यान्न सामग्री उपलब्ध गराएका हुन्।
विवाहमा आउने जन्ती तथा पाहुनाहरूको भोजन व्यवस्थाका लागि आवश्यक पर्ने चामल, दाल, खाने तेल, आलु, प्याज, हरियो सागसब्जी, मसला लगायतका विभिन्न खाद्यान्न सामग्री बेहुलीको घरमै पुगेर अस्मिताकी आमा अनिता देवी साहलाई हस्तान्तरण गरिएको थियो।
अस्मिताको विवाह शुक्रबार चक्रघट्टा गाउँपालिकाको गोहियाही निवासी अशोक साहसँग सम्पन्न भएको छ।
हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा “नेपालका लागि नेपाली पार्टी” बाट उम्मेदवार बनेका हिन्दु सम्राट सेना नेपालका केन्द्रीय उपाध्यक्ष यादवले घरदैलो अभियानका क्रममा अस्मिताका बुवासँग भेट हुँदा छोरीको विवाहमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। चुनावमा पराजित भए पनि आफ्नो वाचा पूरा गर्दै यादवले उक्त सहयोग उपलब्ध गराएको बताएका छन्।
सहयोग प्राप्त भएपछि परिवारका सदस्यहरूले खुसी व्यक्त गर्दै सहयोगकर्ताप्रति धन्यवाद दिएका छन्। स्थानीय बासिन्दाले पनि विपन्न परिवारको विवाहमा गरिएको यस्तो सहयोग सामाजिक दृष्टिले उदाहरणीय कार्य भएको बताएका छन्।
No comments:
Post a Comment