Translate

Sunday, March 15, 2026

रास्वपाको सरकार २० वर्ष रहने अमरेश सिंहको दाबी

   


मधेशदूत समाचारदाता----
सर्लाही, चैत २

     सर्लाही क्षेत्र नम्बर–४ मा यसपटकको प्रतिनिधि सभा सदस्य निर्वाचन देशकै चासोको केन्द्र बन्यो। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंहबीच भएको प्रतिस्पर्धामा अन्ततः सिंह विजयी हुँदै चौथो पटक संसद् प्रवेश गर्न सफल हुनुभएको छ।
    निर्वाचन परिणामअनुसार सिंहले ३५ हजार ६८८ मत प्राप्त गर्नुभयो भने थापा २२ हजार ८३१ मतमा सीमित हुनुभयो। देशभर चर्चामा रहेको यो प्रतिस्पर्धामा सिंहले उल्लेखनीय मतान्तरसहित विजय हासिल गरेका हुन्।
    सिंह यसअघि नेपाली कांग्रेसबाट दुई पटक र स्वतन्त्र उम्मेदवारका रूपमा एक पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइसकेका नेता हुनुहुन्छ। यस पटक भने उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरी चुनावी मैदानमा उत्रनुभएको थियो। जनकपुरमा आयोजित चुनावी सभामार्फत रास्वपामा प्रवेश गरेका सिंहले पहिलो पटक सोही पार्टीको उम्मेदवारका रूपमा जित हात पार्नुभएको हो।
   २०७९ को निर्वाचनमा कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेर चुनाव लडेका सिंहले कांग्रेसकै उम्मेदवारलाई पराजित गर्दै संसद् पुगेका थिए। यस पटक भने आफ्नै पूर्वपार्टीका सभापति थापालाई पराजित गरेपछि उहाँ थप चर्चामा आउनुभएको छ।
संसद्मा विगतदेखि नै भ्रष्टाचार, सुशासन र समसामयिक विषयमा कडा रूपमा आवाज उठाउँदै आएका सिंहले आगामी दिनमा पनि सोही विषयलाई प्राथमिकतामा राख्ने बताउनुभएको छ। उहाँका अनुसार सर्लाही–४ का मतदाताले आफूले उठाएका मुद्दा र जनतासँगको निरन्तर सम्पर्कका कारण पुनः विश्वास व्यक्त गरेका हुन्।
सिंहले निर्वाचन क्षेत्रका कृषि, सिँचाइ, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। साथै नागरिकले प्रत्यक्ष रूपमा परिवर्तनको अनुभूति गर्न सक्ने गरी एक सय दिनभित्रै कामको सुरुवात गर्ने उहाँको भनाइ छ।
    नवनिर्वाचित सांसद सिंहले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति देशभर बढ्दै गएको जनसमर्थनलाई उल्लेख गर्दै आगामी दुई दशकसम्म सोही पार्टीको नेतृत्वमा सरकार बन्ने दाबीसमेत गर्नुभएको छ।

No comments:

Post a Comment