चैती छठका लागि नवनिर्वाचित रास्वपा सांसद रविन महतोले गरे पोखरी सरसफाई
मधेशदूत समाचारदाता----
मलंगवा, चैत १०
चैती छठ पर्वलाई लक्षित गर्दै सर्लाही सदरमुकाम मलंगवामा सोमबार दिउँसो पोखरी सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
क्षेत्र नं. २ का नवनिर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका सांसद रविन महतोको नेतृत्वमा स्थानीय युवा नेता चन्दन सिंह, मलंगवा-२ का वडाध्यक्ष धिरेन्द्र साह र अन्य जनप्रतिनिधि तथा युवाहरूको सक्रिय सहभागितामा मलंगवा नगरपालिका–२,पब्लिक स्कुलको छेउ झण्डा बजारमा रहेको महन्त पोखरीको डिल वरपर सरसफाई गरिएको हो।
कार्यक्रमका क्रममा रविन महतोले भने, “छठ पर्व हाम्रो सांस्कृतिक र धार्मिक पहिचानसँग जोडिएको छ। पोखरी सफा गरेर हामीले न केवल स्थानीय वातावरण संरक्षण गरेका छौं, समुदायमा स्वच्छता र सामाजिक जिम्मेवारीको सन्देश पनि प्रवर्द्धन गरेका छौं।”
वडाध्यक्ष साहका अनुसार, सरसफाईले छठ पर्वको अवसरमा पोखरीको सौन्दर्य र स्वच्छता कायम गर्न मद्दत पुग्नेछ। स्थानीय युवा र जनप्रतिनिधिहरू सक्रिय रुपमा सहभागी भएर सार्वजनिक स्थलमा स्वच्छता कायम गर्न योगदान दिएका छन्।
यसैबीच मलंगवा -२ का वडाअध्यक्ष साहले सांसद महतोलाई सम्पूर्ण वडाबासीहरुको तर्फबाट सम्मान गरेका छन् ।
No comments:
Post a Comment