चाँदीका अवैध गहना सहित एक व्यक्ति मलंगवाबाट पक्राउ
मधेशदूत समाचारदाता---
सर्लाही, फाल्गुन २५
सर्लाहीको मलंगवा नगरपालिका–९ स्थित ट्रायल सेन्टर अगाडिको सडकबाट भन्सार छलि गरी ल्याइएका चाँदीका गहनासहित एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आइतवार दिउँसो करिब २:३० बजेको समयमा भारतबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी चाँदीका विभिन्न गहनाहरु ल्याइरहेको भन्ने विशेष सूचनाको आधारमा जिप्रका मलंगवा र प्रहरी चौकी गोरखकालीबाट खटिएको संयुक्त प्रहरी टोलीले मलंगवा –९ निवासी श्रीकृष्ण साहका ५५ वर्षीय छोरा गौरीशंकर साहलाई पक्राउ गरेको हो।
प्रहरीले उनको शरीर तथा साथमा रहेको झोलाको खानतलासी गर्दा पहेँलो रङको तीन वटा प्लास्टिकभित्र लुकाइछिपाइ राखिएको ९१५.४६० ग्राम चाँदीबाट बनेका विभिन्न गरगहना फेला परेको प्रहरीले जनाएको छ।
उक्त चाँदीका गहनाहरु भन्सार छली गरी चोरी पैठारी गरेर ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ। बरामद गरिएका गहनाहरु स्थानीय व्यक्तिहरुको रोहबरमा रितपूर्वक बरामद गरिएको थियो।
पक्राउ परेका साह तथा बरामद गरिएका चाँदीका गहनाहरुलाई आवश्यक कारबाहीका लागि सोमबार सर्लाही भन्सार कार्यालयमा बुझाइएको प्रहरी प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिएको छ।
No comments:
Post a Comment