Translate

Wednesday, March 11, 2026

रमजानमा ५० मुस्लिम परिवारलाई खाद्यान्न सहयोग

 


मधेशदूत समाचारदाता
सर्लाही, फाल्गुन २७

   रमजान महिनाको अवसरमा नेपाल मुस्लिम शान्ति समाजले सर्लाहीको मलंगवामा ५० गरिब तथा विपन्न मुस्लिम परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ। संस्थाको मलंगवा नगर समितिका अध्यक्षको पहलमा मलंगवा -३ स्थित जिलानिया मुहल्लामा बुधबार आयोजित कार्यक्रममा आवश्यक खाद्य सामग्री वितरण गरिएको हो।
    संस्थाका अनुसार प्रत्येक परिवारलाई करिब रु. २ हजार ५ सय रुपैयाँ बराबरको खाद्यान्न प्याकेज उपलब्ध गराइएको थियो। उक्त प्याकेजमा चामल, दाल, आलु, प्याज लगायत दैनिक उपभोगका अत्यावश्यक खाद्य सामग्रीहरू समावेश गरिएको थियो।
   कार्यक्रमका क्रममा संस्थाका केन्द्रीय सल्लाहकार मो. समिरुद्दीन मिकरानीले रमजानको पवित्र महिनामा आर्थिक रूपमा कमजोर तथा आवश्यकता परेका परिवारलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनले समाजमा मानवीय सेवा र सहकार्यको भावना बढाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।
   नेपाल मुस्लिम शान्ति समाजले आगामी दिनमा पनि समाजसेवा तथा मानवीय सहयोगका कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ।

No comments:

Post a Comment