Translate

Friday, March 20, 2026

जीवनका लागि पोषण कार्यक्रमबारे जिल्ला स्तरीय परिचयात्मक बैठक सम्पन्न

 


मधेशदूत समाचारदाता---
सर्लाही, चैत ६

   सर्लाही जिल्लामा “जीवनका लागि पोषण (Nutrition for Life–N4L)” कार्यक्रम सम्बन्धी जिल्ला स्तरीय परिचयात्मक बैठक शुक्रबार मलंगवास्थित महेन्द्र होटलमा सम्पन्न भएको छ।
   Helen Keller International Nepal को सहयोग तथा मधेश प्रदेश सरकार र राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र(RRPK)सर्लाहीको संयुक्त साझेदारीमा सञ्चालन हुने उक्त कार्यक्रम जिल्ला समन्वय समितिको सहकार्यमा आयोजना गरिएको हो।
    जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको अध्यक्षतामा सम्पन्न भएको बैठकमा RRPK का कार्यकारी निर्देशक शिवजी प्रसाद साहले स्वागत मन्तव्य राख्दै  कार्यक्रमको उद्देश्य, गतिविधि, कार्यान्वयन रणनीति तथा समन्वयका विषयमा जानकारी गराएका थिए ।  कार्यक्रममा जिल्लाका सरोकारवालाहरुलाई “Nutrition for Life” परियोजनाबारे औपचारिक जानकारी गराउँदै यसको वार्षिक कार्ययोजनालाई जिल्ला प्राथमिकतासँग समन्वय गर्ने विषयमा जोड दिइएको थियो।
   यस परियोजनाको मुख्य लक्ष्य सर्लाहीसहित लक्षित जिल्लाहरूमा पाँच वर्षमुनिका बालबालिका, गर्भवती महिला तथा नवजात शिशुको पोषण अवस्थामा सुधार ल्याउनु र जीवन रक्षा सुनिश्चित गर्नु रहेको छ। साथै ६ देखि १९ महिनासम्मका बालबालिकामा कुपोषण घटाउने, आमा तथा नवजात शिशुको पोषण सुधार गर्ने, समुदायस्तरका स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको क्षमता अभिवृद्धि गर्ने तथा तीनै तहका सरकारबीच दिगोपन र स्वामित्व बढाउने उद्देश्य पनि राखिएको छ।
   कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख कौशल किशोर सिंह, उपप्रमुख जितेन्द्र कुशवाहा, निमित्त प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरे, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक सरोज राई, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख मित्र प्रसाद गौतम, जिल्ला समन्वय अधिकारी कमल बहादुर कार्की, मलंगवा नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख नगिना राय, स्वास्थ्य कार्यालय प्रमुख डा. नवल किशोर झा,नागरिक समाजका अध्यक्ष उग्रकान्त झा, महासचिव शिवचन्द्र चौधरी तथा नेपाल पत्रकार महासंघ सर्लाही अध्यक्ष ओमप्रकाश ठाकुरलगायत विभिन्न कार्यालयका प्रमुख र पत्रकारहरुको उपस्थिति रहेको थियो।
   कार्यक्रमका सहभागीहरूले पोषण सुधारका लागि सबै निकायबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।

No comments:

Post a Comment