Translate

Friday, March 20, 2026

काँग्रेस सर्लाही–२ को समीक्षा बैठक सम्पन्न, असफलताका कारणमाथि गम्भीर छलफल

 


मधेशदूत समाचारदाता
सर्लाही, चैत ६

      नेपाली काँग्रेस सर्लाही क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य निर्वाचनसम्बन्धी समीक्षा बैठक शुक्रबार मलंगवामा सम्पन्न भएको छ। क्षेत्रीय सभापति कौशल किशोर रायको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्ला, नगर, गाउँ तथा वडा तहका पदाधिकारी, सक्रिय सदस्य, पूर्व पदाधिकारी तथा महाधिवेशन प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो।
    बैठकले फाल्गुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको समग्र समीक्षा गर्दै अपेक्षित परिणाम नआउनुका विभिन्न कारणमाथि गम्भीर छलफल गरेको जनाएको छ। सहभागीहरुले देशमा विकास निर्माणका क्षेत्रमा केही प्रगति भए पनि नेतृत्व तहको आचरण र व्यवहारमा देखिएका कमजोरीका कारण निर्वाचन परिणाम प्रभावित भएको निष्कर्ष निकालेका छन्।
    त्यसैगरी, पार्टीभित्र इमान्दार र निष्ठावान कार्यकर्ताको उपेक्षा हुनु, नातावाद, कृपावाद र अवसरवादको प्रभाव बढ्दै जानु पनि पराजयका प्रमुख कारणका रूपमा औंल्याइएको छ। नेपाली काँग्रेस र नेकपा एमालेबीच भएको गठबन्धन प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्नु, भदौ २३–२४ मा भएको जेएनजी आन्दोलनको समुचित समीक्षा नहुनु तथा आम निर्वाचनकै समयमा विशेष महाधिवेशन हुनुका कारण कार्यकर्तामा उत्साहको सट्टा निराशा बढेको विषय पनि बैठकमा उठाइएको थियो।


   बैठकले क्षेत्र नं. २ का उम्मेदवार डा. सरोज कुमारलाई जिताउन कार्यकर्ताले इमान्दारीपूर्वक सक्रिय भूमिका खेलेको र कुनै प्रकारको अन्तरघात नभएको निष्कर्षसमेत निकालेको क्षेत्रीय सभापति रायले जानकारी दिनुभयो।
    कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्यमन्त्री जंगीलाल राय, पूर्व जिल्ला सभापति लक्ष्मण राय, पूर्व क्षेत्रीय सभापति दिनेश मिश्र, महाधिवेशन प्रतिनिधि राम प्रताप राय,राम सोमारी साह, जिल्ला सचिव मनोज राय, पदेन सदस्य रुपेश कुमार, सत्येन्द्र कुमार यादवलगायतको उपस्थिति रहेको थियो।
बैठक मलंगवा–१० स्थित जानकी पार्टी प्यालेसमा सम्पन्न भएको हो।

No comments:

Post a Comment