श्री देवधारी मावि सुन्दरपुर लक्ष्मीपुर सुखचैनामा अभिभावक भेला सम्पन्न
सुनिल राय----
सर्लाही,चैत १६
श्री देवधारी माध्यमिक विद्यालय, सुन्दरपुर लक्ष्मीपुर सुखचैनामा अभिभावक भेला कार्यक्रम सम्पन्न भएको छ। सनिवार सम्पन्न भएको कार्यक्रममा अभिभावक, शिक्षक तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रम गाउँपालिका अध्यक्ष रुपेश यादवको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष सरोज पटेलको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक राम किशोर महतोले अभिभावकहरूको उल्लेखनीय उपस्थितिप्रति खुशी व्यक्त गरे। उनले शिक्षाको गुणस्तर सुधार गर्न अभिभावकको भूमिका महत्वपूर्ण हुने बताए।
त्यस्तै प्रमुख अतिथि रुपेश यादवले शिक्षा क्षेत्रलाई बलियो बनाउन विद्यालय र अभिभावकबीच सहकार्य आवश्यक रहेको बताए। सक्रिय अभिभावक सहभागिताले बालबालिकाको भविष्य उज्ज्वल बन्ने विश्वास उनले व्यक्त गरे। साथै, उनले केही दिनभित्रै पालिकामा लोकसेवा तयारी कक्षा सञ्चालन गरिने र त्यसका लागि बजेटसमेत विनियोजन भइसकेको जानकारी दिए।
कार्यक्रममा अभिभावकहरूले विद्यालयको आर्थिक अवस्था, शैक्षिक गुणस्तर तथा भौतिक पूर्वाधार सुधार सम्बन्धी विभिन्न प्रश्न उठाएका थिए। ती प्रश्नहरूको निष्पक्ष जवाफ दिँदै अध्यक्ष पटेलले आफ्नो कार्यकालमा भएका काम तथा कार्यक्रमबारे जानकारी गराए।
विद्यालयले आगामी दिनहरूमा अभिभावकसँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।
No comments:
Post a Comment