मानपुर वैरेज घटनामा राजनीतिक प्रतिशोधको आरोप, काँग्रेस द्वारा छानबिन समिति गठनको माग
मधेशदूत समाचारदाता----
सर्लाही, चैत १६
नेपाली कांग्रेस सर्लाहीले मानपुर वैरेज नजिक भएको एक वर्ष पुरानो घटनालाई लिएर आफ्ना नेता–कार्यकर्तामाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दर्ता गरिएको आरोप लगाउँदै उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको छ।
आइतबार जिल्ला प्रशासन कार्यालय मलंगवामा प्रमुख जिल्ला अधिकारी रामुराज कडरियालाई बुझाइएको ज्ञापनपत्रमार्फत पार्टीले उक्त घटनामा सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही र निर्दोषलाई न्याय दिन आग्रह गरेको हो। नेपाली कांग्रेस सर्लाहीका कार्यवाहक सभापति डा. सरोज कुमार यादवद्वारा बुझाइएको ज्ञापनपत्रमा पार्टीले विधिको शासन, शान्ति–सुरक्षा तथा न्यायिक निष्पक्षताप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।
ज्ञापनपत्रमा उल्लेख भएअनुसार सर्लाहीको बसबरिया गाउँपालिका–२ स्थित मानपुर वैरेज नजिक २०८१ चैत १ गते होली पर्वका दिन भएको झै–झगडापछि प्रहरीले भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित सोनु कुमार सहनीलाई नियन्त्रणमा लिएको थियो। चार दिनपछि इलाका प्रहरी कार्यालय बरहथवामा दुवै पक्षबीच छलफल गराई घाइतेको उपचार खर्च व्यहोर्ने सहमतिपछि उनलाई रिहा गरिएको बताइएको छ।
तर, सोही घटनालाई लिएर करिब दुई महिना पछि कपोलकल्पित जाहेरी दर्ता गरी नेपाली कांग्रेस सर्लाहीका तत्कालीन जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंह, युवा नेता गजेन्द्र साह र निकेश त्रिपाठीलाई षड्यन्त्रपूर्वक फसाइएको आरोप पार्टीले लगाएको छ।
ज्ञापनपत्रमा संघीय सांसद अमरेश कुमार सिंहमाथि राजनीतिक पूर्वाग्रह राखी पीडित परिवारलाई उक्साउने तथा प्रहरीमाथि दबाब सिर्जना गरी मुद्दा दर्ता गराउन भूमिका खेलेको आरोप समेत लगाइएको छ। साथै, कुनै ठोस प्रमाणबिना ज्यान मार्ने उद्योगजस्ता गम्भीर अभियोगमा मुद्दा दर्ता गरिएकोप्रति पार्टीले गम्भीर आपत्ति जनाएको छ।
नेपाली कांग्रेस सर्लाहीले उक्त घटनालाई “घोर निन्दनीय” भन्दै निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक समिति गठन गर्न सरकारसँग माग गरेको छ। साथै, छिटो छानबिन प्रक्रिया अघि नबढाइए चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिएको छ।
No comments:
Post a Comment