मलंगवा नगरपालिकाको चेतावनी: सामुदायिक विद्यालयमा शुल्क उठाए कारबाही
मधेशदूत समाचारदाता---
सर्लाही,चैत १६
मलंगवा नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूबाट कुनै पनि शीर्षकमा शुल्क असुल नगर्न स्पष्ट निर्देशन दिएको छ। नगरपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत रामलाल सहनीद्वारा आइतवार जारी सूचनामा शिक्षा नियमावली २०५९, अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ तथा नियमावली २०७७ को प्रावधान अनुसार यस्तो व्यवस्था गरिएको जनाइएको हो।
विद्यार्थीबाट शुल्क लिने कार्य कानुनविपरीत भएको उल्लेख गर्दै यदि विद्यार्थीसँग शुल्क असुल गरेको पाइएमा त्यसको जिम्मेवारी प्रधानाध्यापक र विद्यालय प्रशासनले नै वहन गर्नुपर्ने र आवश्यक कारबाही समेत हुने चेतावनी दिइएको छ।
यसैबीच, नगरपालिकाले अंग्रेजी माध्यममा विद्यालय सञ्चालन तथा त्यसअन्तर्गत शुल्क लिने विषयमा कुनै निर्णय नगरेको स्पष्ट पारेको छ।
नगरपालिकाको यो कदमले अभिभावकहरूलाई राहत पुग्ने अपेक्षा गरिएको छ भने विद्यालयहरूले कानुनी व्यवस्था पालना गर्नुपर्ने दबाब समेत बढेको छ।
No comments:
Post a Comment