Translate

Sunday, March 29, 2026

ओली पक्राउको विरोधमा एमाले द्वारा मलंगवामा प्रदर्शन, प्रशासनमा ज्ञापनपत्र




मधेशदूत समाचारदाता---
सर्लाही, चैत १६

     नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारीपछि सर्लाहीको राजनीतिक वातावरण थप तातेको छ।     सदरमुकाम मलंगवामा आइतबार भएको प्रदर्शनले सत्ता–प्रतिपक्षबीचको टकरावलाई स्थानीय स्तरसम्म स्पष्ट रूपमा उजागर गरेको छ।
    एमालेले देशव्यापी आन्दोलनको आह्वान गरेसँगै सर्लाहीमा पनि कार्यकर्ताहरू सडकमा उत्रिएका हुन्। मलंगवास्थित जिल्ला प्रशासन कार्यालय अगाडि आयोजित प्रदर्शनमा जिल्लाभरबाट नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति देखिएको थियो। उनीहरूले नाराबाजी गर्दै सरकारविरुद्ध आक्रोश व्यक्त गरेका थिए भने अध्यक्ष ओलीको रिहाइको मागलाई मुख्य एजेण्डा बनाएका थिए।
    जिल्ला अध्यक्ष राजनारायण साहको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ।ज्ञापनपत्रमार्फत एमालेले ओलीको गिरफ्तारीलाई “राजनीतिक प्रतिशोध” को संज्ञा दिँदै तत्काल निःसर्त रिहाइको माग गरेको छ।
   प्रदर्शनका क्रममा सहभागी नेताहरूले सरकारमाथि लोकतान्त्रिक मूल्य र विधिको शासन कमजोर बनाउने आरोप लगाए। उनीहरूले राजनीतिक असहमतिलाई दमनमार्फत समाधान खोज्ने प्रयासले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने चेतावनीसमेत दिएका छन्।
   यसअघि शनिबार जिल्लाका विभिन्न स्थानमा टायर बालेर विरोध जनाइएको थियो, जसले आन्दोलनको स्वर अझ चर्किएको संकेत दिएको स्थानीयले बताएका छन्। आइतबारको प्रदर्शन भने तुलनात्मक रूपमा संगठित र प्रशासन केन्द्रित देखिएको थियो।
   यता, जिल्ला प्रशासन कार्यालय सर्लाहीले कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ। सुरक्षा निकायले सतर्कता अपनाए पनि कुनै अप्रिय घटना नभएको प्रशासनको भनाइ छ।
   ओली पक्राउ प्रकरणले सर्लाहीमा मात्र नभई देशभर राजनीतिक ध्रुवीकरण बढाइरहेको छ। आन्दोलन थप सशक्त बनाउने एमालेको चेतावनीसँगै आगामी दिनमा स्थानीय स्तरमा पनि राजनीतिक गतिविधि अझ बढ्ने संकेत देखिएको छ।

No comments:

Post a Comment