सर्लाहीमा एसईई केन्द्र घटेर ३५ मा सीमित, ११ हजार बढी विद्यार्थी सहभागी हुँदै
मधेशदूत समाचारदाता---
सर्लाही, चैत १३
आगामी चैत १९ गतेदेखि देशभर एकैसाथ सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि सर्लाही जिल्लामा यस वर्ष ३५ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाका अनुसार गत वर्षको तुलनामा यसपटक तीन वटा केन्द्र घटाइएको हो।
इकाइले जनाएअनुसार बरहथवा नगरपालिका–५ स्थित जनहित मलभोगिया माध्यमिक विद्यालय, बरहथवा–९ मुर्तियाको मुक्तेश्वर गणेश रामसखी माध्यमिक विद्यालय तथा धनकौल गाउँपालिका–३ हरकठवाको जनता माध्यमिक विद्यालयमा अघिल्लो वर्ष सञ्चालनमा रहेका परीक्षा केन्द्र यस वर्ष हटाइएका छन्।
विद्यार्थी संख्या न्यून हुनुका साथै परीक्षा सञ्चालन निर्देशिका अनुसार एक केन्द्रमा कम्तीमा ३०० परीक्षार्थी हुनुपर्ने प्रावधान पूरा नहुँदा ती केन्द्र खारेज गरिएको जनाइएको छ।
साथै धनकौलस्थित जनता माध्यमिक विद्यालयमा विगतमा अनुशासनविपरीत गतिविधि दोहोरिँदै आएको कारण पनि केन्द्र हटाउने निर्णय गरिएको इकाइले स्पष्ट पारेको छ। केन्द्र हटाइएका विद्यालयका विद्यार्थीहरूलाई नजिकका अन्य परीक्षा केन्द्रमा समायोजन गरिएको छ।
यस वर्ष सर्लाहीबाट कूल ११ हजार ३७१ विद्यार्थी एसईई परीक्षामा सहभागी हुने भएका छन्। तीमध्ये १० हजार २८५ जना नियमिततर्फका र १ हजार ८६ जना ग्रेडवृद्धितर्फका परीक्षार्थी रहेका छन्।
No comments:
Post a Comment