Translate

Thursday, March 26, 2026

निर्वाचनपछि मुद्दा दर्ता: कांग्रेस सर्लाहीद्वारा आपत्ति राजनीतिक फरक मतकै आधारमा फसाउने प्रयास भएको आरोप

 



मनोज यादव----

सर्लाही, चैत १३

    नेपाली कांग्रेस सर्लाहीले एक आपराधिक घटनामा आफ्नो पार्टीका नेता तथा कार्यकर्तालाई “राजनीतिक प्रतिशोध” का आधारमा फसाइएको आरोप लगाउँदै कडा आपत्ति जनाएको छ।
    पार्टीले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा मुलुकमा कानुनी राज्यको स्थापना, छिटो र सुलभ न्याय प्राप्ति तथा लोकतान्त्रिक अधिकारको निष्पक्ष प्रयोग सुनिश्चित गर्न आफूहरू सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै कुनै पनि फौजदारी घटनाको अनुसन्धान पूर्वाग्रहविहीन हुनुपर्नेमा जोड दिएको छ।
   विज्ञप्ति अनुसार, सर्लाहीको बसवरिया गाउँपालिका–२ स्थित मनुष्मारा नदीको मानपुर ब्यारेज अगाडि गत चैत १ गते राति करिब ८ बजे भएको घटनापछि प्रहरीले BR-30AP-4825 नम्बरको भारतीय मोटरसाइकल बरामद गरेको थियो। सो घटनामा संलग्न भनिएका सोनु कुमार सहनीलाई पक्राउ गरी चार दिनसम्म इलाका प्रहरी कार्यालय बरहथवामा राखिएको र पछि दुवै पक्षबीच उपचार खर्च बेहोर्ने सहमतिपछि रिहा गरिएको जनाइएको छ।
   तर, उक्त घटनामा संलग्नता नरहेको दाबी गर्दै कांग्रेसले ४६ दिनपछि पुनः जाहेरी दर्ता गरी पार्टीका पूर्व जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंह र कार्यकर्ता गजेन्द्र साहलाई प्रतिवादी बनाइएकोप्रति गम्भीर आपत्ति जनाएको छ। पार्टीका अनुसार, हुलाकमार्फत पठाइएको जाहेरी गोप्य रूपमा दर्ता गरी सम्बन्धित व्यक्तिहरूलाई जानकारी नदिई निर्वाचनपछि बदनियतपूर्ण ढंगले मुद्दा दर्ता गरिएको हो।
  कांग्रेस सर्लाहीले यसलाई “कपोलकल्पित कागजातका आधारमा गरिएको चरित्र हत्या” को प्रयास भएको उल्लेख गर्दै सम्बन्धित निकायलाई तत्काल त्रुटि सच्याउन चेतावनी दिएको छ। अन्यथा उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सम्बन्धित निकायले नै वहन गर्नुपर्ने चेतावनी पनि दिइएको छ।
   कार्यवाहक सभापति सरोज कुमारको हस्ताक्षरमा जारी विज्ञप्तिमा निष्पक्ष छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न माग गरिएको छ।
   यसै विषयमा का.वा अध्यक्ष सरोजले बिहिवार सदरमुकाम मलंगवा स्थित आफ्नै पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो। उक्त पत्रकार सम्मेलनमा मधेश प्रदेश सांसद विरेन्द्र सिंह, विनोद खनाल, कौशल किशोर सिंहलगायत पार्टीका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।

No comments:

Post a Comment