Translate

Thursday, March 26, 2026

स्थानीय अवरोध र बजेट अभावले कौडेना कलभर्ट–तटबन्ध योजना अन्योलमा

  



मधेशदूत समाचारदाता----
सर्लाही,चैत १३ 

    सर्लाहीको कौडेना गाउँपालिकामा हुलाकी राजमार्ग अन्तर्गत निर्माणाधीन बक्स कलभर्ट स्थानीयको अवरोधका कारण रोकिएको छ । तर यो विवादको जड केवल स्थानीय असन्तुष्टि नभई दीर्घकालीन योजना अभाव र बजेट व्यवस्थापनको कमजोरीसँग जोडिएको देखिएको छ ।
    गत असोजमा आएको बाढीले लखन्देही र ढंग्रा खोलाले सडक कटान गरेपछि तत्काल समाधानका रूपमा डाइभर्सन बनाएर यातायात सञ्चालन गरिँदै आएको थियो । सोही स्थानमा अहिले स्थायी समाधानका लागि बक्स कलभर्ट निर्माण थालिएको थियो । तर वर्षेनि उत्तर–पश्चिमबाट आउने बाढीले गाउँ डुबानमा पर्ने जोखिम कायमै रहने भन्दै स्थानीयले पहिले तटबन्ध निर्माण गर्नुपर्ने अडान लिएपछि काम ठप्प भएको हो ।
   स्थानीयको माग अनुसार करिब डेढ किलोमिटर तटबन्ध आवश्यक भए पनि सम्बन्धित निकायसँग चालु आर्थिक वर्षमा त्यसका लागि बजेट नभएको पुष्टि भइसकेको छ । जलस्रोत तथा सिँचाई विकास कार्यालय चन्द्रनिगाहपुरका प्रमुख अनुभव चौधरीले आगामी वर्षका लागि बजेट व्यवस्थापनको प्रयास गर्ने बताए पनि तत्काल समाधानको कुनै स्पष्ट खाका प्रस्तुत भएको छैन ।
    यसबीच, राजनीतिक हस्तक्षेपले पनि आयोजना थप जटिल बनेको छ । सर्लाही–२ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रबिन महतोले स्थानीयको माग सम्बोधन नभएसम्म कलभर्ट निर्माण अघि नबढाउन निर्देशन दिएका छन् । यसले निर्माण कम्पनी र ठेकेदारलाई आर्थिक र व्यवस्थापकीय दबाबमा पारेको छ ।
   एकातिर तत्काल सडक सञ्चालनलाई सहज बनाउन कलभर्ट आवश्यक छ भने अर्कोतिर दीर्घकालीन बाढी नियन्त्रणका लागि तटबन्ध अपरिहार्य देखिन्छ । तर दुवै काम सँगसँगै अघि बढाउन नसक्दा आयोजना अन्योलमा परेको छ ।
विशेषज्ञहरूका अनुसार पूर्वाधार निर्माणअघि समग्र नदी नियन्त्रण योजना नबनाउँदा यस्ता समस्या दोहोरिने गरेका छन् । कौडेनाको यो घटना पनि योजनाविहीन विकासको परिणाम भएको स्थानीयको बुझाइ छ ।
   अहिलेको अवस्थामा न त कलभर्ट निर्माण अघि बढ्न सकेको छ, न त तटबन्धको काम सुरु हुने सुनिश्चितता छ । यसले हुलाकी राजमार्गजस्तो राष्ट्रिय गौरवको आयोजनामा ढिलाइ मात्रै होइन, स्थानीयको जनजीवन र यातायात व्यवस्थामा पनि प्रत्यक्ष असर पारिरहेको छ ।

No comments:

Post a Comment