सर्लाहीमा नयाँ राजनीतिक युगको सुभारम्भ पुराना नेताहरुलाई पराजित गर्दै नयाँ युवा अनुहारको उदय
मधेशदूत समाचारदाता----
सर्लाही,चैत १
भर्खरै सम्पन्न (फाल्गुन २१ गते) प्रतिनिधिसभा सदस्य निर्वाचनले सर्लाहीमा राजनीतिक परिदृश्य नै फेरिदिएको छ। यस पटक चार निर्वाचन क्षेत्रमध्ये तीन क्षेत्रमा नयाँ अनुहारहरूले विजय प्राप्त गरेका छन् । यसपटक मतदाताहरुले पुराना र अनुभवी नेताहरूलाई पराजित गर्दै नयाँ नेताको रुपमा युवा अनुहारको उदय गराएका छन् ।
सर्लाही जिल्लाको निर्वाचन क्षेत्र न–१ मा नितिमा कार्की निर्वाचित भएकी छन्। राजनीतिमा नयाँ अनुभव भएकी कार्कीले पुराना तथा दिग्गज नेताहरूलाई ठूलो मतान्तरले पराजित गर्नु रोचक विषय हो। काठमाडौं उपत्यकामा होटल व्यवसायमा संलग्न ४३ वर्षीया कार्कीले ४४ हजार १८१ मत प्राप्त गर्दै संसदीय यात्रामा प्रवेश गरेकी छन्। उनले शिक्षा, स्वास्थ्य, सिँचाइ र रोजगारीमा प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेकी छन्।
त्यस्तै सर्लाही निर्वाचन क्षेत्र –२ का पराजित नेताहरूमा ‘मधेशको मसिहा’ ख्याति पाएका राजेन्द्र महतो र पटक–पटक मन्त्री बनेका महेन्द्र राय यादव पर्छन्। तर, युवा नेता रबीन महतोले ३८ वर्षको उमेरमै यी दिग्गजहरूलाई ठूलो मतान्तरले पराजित गर्दै सर्लाही–२ बाट विजय प्राप्त गरे। महतोले ४२ हजार ५१२ मत प्राप्त गर्दै कृषि, स्वास्थ्य र शिक्षामा केन्द्रित हुने योजना सार्वजनिक गरेका छन्।
यसैगरि सर्लाही–३ मा तेस्रो प्रयासमा नरेन्द्र साह कलवार विजयी भएका छन्। २०७९ मा हार खेपेका साहले यस पटक भारी मतान्तरले हरि उप्रेती र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई पराजित गरेका छन् । सामाजिक तथा आर्थिक क्षेत्रमा सक्रिय साहले ४६ हजार ८९० मत प्राप्त गरे।
सर्लाहीको ४ नम्बर क्षेत्रमा ‘हेभीवेट’ नेता डा. अमरेशकुमार सिंह चौथो पटक निर्वाचित भएका छन् । नेपाली कांग्रेसका गगनकुमार थापासँग प्रतिस्पर्धामा रहेका सिंहले अघिल्ला निर्वाचनभन्दा बढी मत ल्याउँदै आफ्नो प्रभाव मधेशमा अझ बलियो बनाएका छन्।
राजनीतिक विश्लेषकहरूको अनुसार, यस निर्वाचनले सर्लाहीमा राजनीतिक परिदृश्यमा युवाहरूको उदय र पुराना नेताहरूको पराजय स्पष्ट रुपमा देखाएको छ। नयाँ अनुहारहरूले मतदातासँग सीधै सम्पर्क गर्दै व्यवहारिक र स्थानीय मुद्दामा जोड दिएर विश्वास जितेका छन्।
अब हेर्न बाँकी छ, यी नयाँ सांसदहरूले आफ्नो वाचाको पालना गर्दै क्षेत्रको विकासमा कस्तो प्रभाव पार्नेछन्।
No comments:
Post a Comment