चन्द्रनगरमा नवनिर्मित १५ बेडको आधारभूत अस्पतालबाट स्वास्थ्य सेवा सुरु
मनोज यादव----
सर्लाही,चैत १
सर्लाहीको चन्द्रनगर गाउँपालिकामा निर्माण गरिएको १५ बेड क्षमताको आधारभूत अस्पतालबाट स्वास्थ्य सेवा प्रवाह सुरु गरिएको छ। चन्द्रनगर गाउँपालिका–२ गौचरनमा निर्माण गरिएको अस्पतालबाट शुक्रबारदेखि औपचारिक रूपमा सेवा प्रारम्भ गरिएको हो।
अस्पताल परिसरमा निर्माण गरिएको मन्दिरमा पूजा–अर्चना गरी विधिवत रूपमा अस्पतालको सेवा शुभारम्भ गरिएको गाउँपालिकाले जनाएको छ। अस्पतालबाट डा. आलोक मिश्रा (एमबीबीएस, चितवन मेडिकल कलेज भरतपुर) को नेतृत्वमा स्वास्थ्य सेवा प्रदान गरिनेछ। अस्पतालमा स्वास्थ्यकर्मी, नर्सिङ स्टाफ, विषयगत प्राविधिक, प्रशासनिक कर्मचारी, सरसफाइकर्मी तथा एम्बुलेन्स चालकसहितको टोली कार्यरत रहेका छन् ।
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा निर्धारण गरिएको १५ बेड आधारभूत अस्पताल सञ्चालन कार्यविधि तथा मापदण्डअनुसार यहाँबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिने जनाइएको छ।
चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोका अनुसार चालु आर्थिक वर्षभित्रै अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने योजना रहेको छ। साथै अस्पतालकै सशुल्क फार्मेसीमार्फत सहुलियत दरमा गुणस्तरीय औषधि उपलब्ध गराउने लक्ष्य लिइएको उनले बताए।
अध्यक्ष महतोले अस्पतालमा यथाशीघ्र स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको जानकारी पनि दिएका छन्।
स्थानीयवासीलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ।
No comments:
Post a Comment