जेनजी आन्दोलनपछि पहिलो चुनाव : सर्लाहीमा युवाको उत्साह, मतपेटिकामा परिवर्तनको खोजी
मनोज यादव---
सर्लाही, फागुन १८
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सर्लाहीका लागि केवल संवैधानिक प्रक्रिया मात्र नभई जेनजी आन्दोलनपछिको जनमतको पहिलो औपचारिक परीक्षणका रूपमा हेरिएको छ। भदौ २३ गते सम्पन्न जेनजी आन्दोलनले जिल्लाको राजनीतिक वातावरणमा ल्याएको तरंग अब मतपेटिकामार्फत मापन हुने अवस्थामा पुगेको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार यसपटकको निर्वाचनमा परम्परागत दलप्रति मात्र होइन, वैकल्पिक शक्तिप्रतिको चासो पनि उल्लेख्य रूपमा बढेको छ। विशेषगरी युवा पुस्ताले यस निर्वाचनलाई ‘परिवर्तनको अवसर’का रूपमा लिएको देखिन्छ। सामाजिक सञ्जालमार्फत राजनीतिक बहस तीव्र बन्दै जाँदा चुनावी मुद्दाहरू पनि पुरानै शैलीबाट नयाँ विमर्शतर्फ मोडिन थालेका छन्।
मतदातामध्ये करिब ३४ प्रतिशत उच्च राजनीतिक प्रभावमा रहेको तथा ५० प्रतिशतमा मध्यम प्रभाव देखिएको प्रारम्भिक आँकलन छ। यसले मतदाताको मनोविज्ञान अझै दलगत प्रभावबाट पूर्ण रूपमा मुक्त नभए पनि परिवर्तनप्रतिको चाहना बढ्दै गएको संकेत गर्छ। जेनजी आन्दोलनको प्रभावले विगतको तुलनामा चुनावी नतिजामा केही फेरबदल ल्याउन सक्ने अनुमान गरिएको छ।
यद्यपि निर्वाचन सफलताका लागि शान्ति–सुरक्षाको सवाल अझै संवेदनशील विषयकै रूपमा रहेको छ। दलका कार्यकर्ताबीच हुने सम्भावित विवादले केही स्थानमा छिटफुट तनाव सिर्जना गर्न सक्ने जोखिम कायमै छ। तर पछिल्लो समय चुनावी वातावरण तुलनात्मक रूपमा शान्त र व्यवस्थित बन्दै गएको स्थानीय प्रशासनको दाबी छ।
नागरिक समाजले भने निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन विशेष ध्यान दिनुपर्नेमा जोड दिएको छ। पैसा र पहुँचको दुरुपयोग, भ्रामक सूचना तथा सामाजिक सञ्जालमार्फत फैलाइने अफवाहलाई प्रमुख चुनौतीका रूपमा औँल्याइएको छ।
निर्वाचनको मिति नजिकिँदै जाँदा सर्लाहीमा राजनीतिक सक्रियता बढेको छ। चिया पसलदेखि सामाजिक सञ्जालसम्म चुनावी बहस चर्किएको छ। यसपटक मतदाताको उत्साह केवल मतदानमा सीमित नरही परिणाममार्फत सन्देश दिनेतर्फ केन्द्रित देखिन्छ।
यस अर्थमा सर्लाहीको निर्वाचन परिणाम केवल प्रतिनिधि चयन मात्र नभई आन्दोलनपछिको जनआकांक्षा र राजनीतिक दिशाको सूचक बन्ने अपेक्षा गरिएको छ।
No comments:
Post a Comment