पुर्व राष्ट्रिय फुटबल खेलाडी केसीले लिए अभिभावक बिहिन ईश्वरपुरका मिजार बालबालिकाको जिम्मेवारी
मधेशदूत समाचारदाता----
सर्लाही,फाल्गुन १८
सर्लाहीको ईश्वरपुर नगरपालिका–८ का एक दलित परिवारको घर निर्माण तथा बालबालिकाको पालनपोषणको जिम्मेवारी जिल्ला खेलकुद विकास समिति सर्लाहीका अध्यक्ष तथा पूर्व राष्ट्रिय फुटबल खेलाडी रोजित केसी ले लिएका छन्।
गरिबीका कारण चुहिने छानो भएको घरमा कष्टकर जीवन बिताइरहेका मिजार परिवारलाई सहयोग गर्ने निर्णय केसीले गरेका हुन्।आमा–बुबा दुवैको साथ नभएपछि सहाराविहीन बनेका मोनिका मिजार, मनिष मिजार, खुशी मिजार, मन्दिप मिजार र सन्दिप मिजारको शिक्षा–दीक्षा तथा दैनिक जीवनयापनमा सहयोग गर्ने जिम्मेवारी उनले लिएका छन्।
बालबालिकाका बुवा फौजदारी कसुरमा जेल परेको र आमा पनि दोस्रो विवाह गरी अलग बसेपछि उनीहरू समस्यामा परेका थिए। बस्न लायक घरसमेत नभएको अवस्थामा उनीहरूले निकै दुःख भोग्दै आएका थिए।
पूर्व राष्ट्रिय खेलाडी केसी स्वयं मिजार परिवारको घरमै पुगेर अवस्था बुझ्दै आगामी दिनमा घर निर्माण तथा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। लामो समय राष्ट्रिय फुटबल टोलीमा सक्रिय रहेका केसी पछिल्लो समय सामाजिक कार्य र राजनीतिमा पनि सक्रिय छन्। उनी नेपाली कांग्रेस ईश्वरपुर–८ का सभापति समेत हुन्।
घर निर्माण र पालनपोषणको जिम्मेवारी लिएपछि मिजार परिवारले खुशी व्यक्त गरेका छन्। स्थानीयवासीले पनि केसीको पहललाई सकारात्मक कदमका रूपमा लिएका छन्।
No comments:
Post a Comment