Translate

Sunday, March 1, 2026

दलको घोषणापत्रमा विकासका वाचा तर गाउँमा अभावै अभाव घोषणापत्रका वाचा कागजमै सीमित रहने कि व्यवहारमा रूपान्तरण हुने ? मतदाताको प्रश्न

 घोषणापत्रका वाचा कागजमै सीमित रहने कि व्यवहारमा रूपान्तरण हुने ? मतदाताको प्रश्न 

मधेशदूत समाचारदाता----
सर्लाही, फाल्गुन १७

   निर्वाचन नजिकिँदै जाँदा सर्लाहीका गाउँ बस्तीहरूमा राजनीतिक चहलपहल बढेको छ । तर मतदाताको चासो भने भाषण र नाराभन्दा टाढा आधारभूत सेवा सुविधामा केन्द्रित देखिन्छ । शिक्षा, स्वास्थ्य र सिँचाइ जस्ता न्यूनतम आवश्यकताकै अभाव झेलिरहेका स्थानीयले यसपटक पनि आफ्ना मुद्दा घोषणापत्रमा प्राथमिकतासाथ नसमेटिएको गुनासो गरेका छन्।
    ब्रह्मपुरी गाउँपालिका–३ का बिलट राय यादवका अनुसार गाउँमै स्वास्थ्य चौकीको भवन भए पनि सेवा प्रभावकारी छैन । “सामान्य चोटपटक लाग्दा पनि उपचारका लागि सदरमुकाम धाउनुपर्छ । सिटामोलसमेत गाउँमा पाइँदैन,” उनले भने । उम्मेदवारहरूले आकर्षक नारा ल्याए पनि कार्यान्वयनमा विश्वास नजागेको उनको टिप्पणी छ ।
   ग्रामीण क्षेत्रका अधिकांश विद्यार्थी उच्च शिक्षा मात्र होइन, आधारभूत शिक्षाका लागि समेत सदरमुकाम र बाहिरका सहरतर्फ जान बाध्य छन्।  दक्षिणी भेगका सामुदायिक विद्यालय जर्जर अवस्थामा सञ्चालन भइरहेका छन् ।
नागरिक समाज सर्लाहीका अध्यक्ष उग्रकान्त झाले प्रत्येक निर्वाचनमा शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिने प्रतिबद्धता दोहोरिने भए पनि परिणाम नदेखिएको बताए । “मधेशमा शिक्षाको अवस्था अति नै कमजोर छ । साक्षरता बढाउने ठोस नीति घोषणापत्रमा भेटिँदैन,” उनले भने ।
   त्यस्तै पर्सा गाउँपालिका–१, शीतलपुर का दिनकर राय यादव दैनिक जीवन सीमापारिको बजारमा निर्भर रहेको बताउँछन् । गाउँमा आवश्यक वस्तु र उपचार सुविधा नहुँदा भारतीय बजारमै जानुपर्ने बाध्यता छ । “मत माग्दा सबै आउँछन्, तर मलखाद अभाव वा अन्य समस्या पर्दा कसैले वास्ता गर्दैन,” उनले गुनासो गरे ।
किसानहरू अहिले गहुँ बालीका लागि मल अभाव, सिँचाइको कमी र सुक्खाको मार झेलिरहेका छन् । 
   हरिपुर्वा नगरपालिका–२ का दिनेश साहका अनुसार नगर अस्पताल भए पनि प्रभावकारी सेवा नहुँदा महँगो खर्च गरेर अन्यत्र उपचार गर्नुपर्छ । “हामीलाई कसले जित्योभन्दा पनि यहीँ सामान्य उपचार पाइयोस् भन्ने चाहना छ,” उनले भने ।
   त्यस्तै इश्वरपुर नगरपालिका–१४ का शशी यादवले विकासको नाममा भौतिक संरचना निर्माणमा जोड दिइए पनि शिक्षा, स्वास्थ्य र वातावरणीय समस्यातर्फ बेवास्ता भएको आरोप लगाए । सुक्खाका कारण चापाकल सुक्ने र वन क्षेत्रमा डढेलो लाग्ने समस्या बढ्दो भए पनि घोषणापत्रमा यस्ता विषय ओझेलमा परेको उनको भनाइ छ ।
   सर्लाहीमा पुराना उम्मेदवारले आफूले स्वास्थ्य संस्था, विद्यालय भवन र सडक निर्माणमा पहल गरेको दाबी गरिरहेका छन् भने नयाँ उम्मेदवारले परिवर्तनको नारा दिँदै मत मागिरहेका छन् । तर गाउँ बस्तीका मतदाताका लागि यसपटकको मुख्य प्रश्न उही छ-घोषणापत्रका वाचा कागजमै सीमित रहने कि व्यवहारमा रूपान्तरण हुने ?

No comments:

Post a Comment