Translate

Tuesday, February 3, 2026

विश्व नेतृत्त्व शिखर सम्मेलन–२०२६ मा सर्लाहीका राजेश कुमार यादव सम्मानित

  


मधेशदूत समाचारदाता---
सर्लाही,माघ २१

    भारतको राजधानी दिल्लीमा मंगलबार सम्पन्न विश्व नेतृत्त्व शिखर सम्मेलन–२०२६ को अवसरमा जनस्वास्थ्य (क्षयरोग कार्यक्रम) का विज्ञ राजेश कुमार यादव लाई नेपाल शिक्षा परिवर्तन अवार्ड प्रदान गरिएको छ। अवार्ड पूर्व शिक्षा तथा स्वास्थ्य मन्त्री, वरिष्ठ राजनीतिज्ञ एवं दार्शनिक डा. करन सिंह ले प्रदान गर्नुभएको हो।
    क्षयरोग अनुसन्धान तथा नियन्त्रणमा निरन्तर सक्रिय यादव यसअघि सन् २०२५ मा बेलायतस्थित रोयल सोसाइटी अफ ट्रपिकल मेडिसिन बाट सम्मानित भइसकेका छन्। त्यस्तै, सन् २०२४ मा गण्डकी प्रदेशमा उत्कृष्ट क्षयरोग नियन्त्रण कार्यक्रम सफलतापूर्वक कार्यान्वयन गरेबापत उहाँलाई राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र ले उत्कृष्ट कर्मचारीका रूपमा सम्मान गरेको थियो।
   यादवले आफ्नो आधारभूत शिक्षा सर्लाहीको बरहथवा नगरपालिका–८ स्थित श्री माध्यमिक विद्यालय, आनन्दनगर टाँडी बाट प्राप्त गर्नुभएको हो। संयोगवश, सोही विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षको रूपमा नेतृत्व सम्हाल्दै उहाँले विद्यालय रूपान्तरणमा उल्लेखनीय योगदान दिनुभएको छ।
उहाँ अध्यक्ष हुनुअघि विद्यालय आधारभूत तहसम्म मात्र सीमित रहेको, विद्यार्थी संख्या करिब ३२० रहेको र भौतिक संरचना जीर्ण अवस्थामा रहेको थियो। तर उहाँको कार्यकालमा तीन वटा नयाँ भवन निर्माण, कक्षा १० सम्म पठन–पाठन विस्तार तथा विद्यार्थी संख्या बढेर करिब ७२५ पुग्न सफल भएको स्थानीय बासिन्दाहरू बताउँछन्। विद्यालयलाई उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित गर्न स्थानीय तहसँग प्रभावकारी सहकार्य गरिएको पनि जनाइएको छ।
    स्थानीयका अनुसार पछिल्ला ४० वर्षमा विभिन्न व्यक्तिले विद्यालय व्यवस्थापन समितिको नेतृत्व गरे पनि राजेश कुमार यादवले तीन वर्षमै हासिल गरेको उपलब्धि ऐतिहासिक रहेको छ। उहाँको कामले सामुदायिक विद्यालय पनि उदाहरणीय बन्न सक्छ भन्ने विश्वास स्थापित भएको उनीहरूको भनाइ छ।
   पूर्व रक्षा मन्त्री हरि प्रसाद उप्रेती, मधेश प्रदेश सरकारका पूर्व अर्थ मन्त्री सञ्जय यादव तथा बरहथवा नगर प्रमुख कल्पना कटुवाल ले यादवलाई इमानदारिता, कार्यकुशलता र समाजप्रतिको उत्तरदायित्वका उत्कृष्ट उदाहरणका रूपमा मूल्यांकन गर्नुभएको छ।
  अवार्ड ग्रहणपछि प्रतिक्रिया दिँदै यादवले कामको पहिचान पाउनु ठूलो कृतज्ञताको अनुभूति भएको बताउनुभयो। उहाँले भन्नुभयो,
“सामुदायिक विद्यालय सक्षम छन्, तर व्यवस्थापनको अभावले अपेक्षित नतिजा आउन सकेको छैन। विद्यालय सफल बनाउन प्रतिबद्धता, सुशासन, राजनीतिकरणको अन्त्य तथा विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूको कर्तव्यनिष्ठता आवश्यक छ।”
  नेपाल शिक्षा परिवर्तन अवार्डको सफलताको श्रेय यादवले परिवार, पूर्व रक्षा मन्त्री उप्रेती, पूर्व प्रदेश अर्थ मन्त्री यादव, बरहथवाकी नगर प्रमुख कटुवाल, गाउँका अभिभावक, आफन्त, गुरुजन तथा सहयोगी संस्थाहरूलाई दिनुभएको छ।
   हाल राजेश कुमार यादव पोखरा विश्वविद्यालय मा मास्टर अफ हेल्थ इन्फर्मेटिक्स कार्यक्रम संयोजकका रूपमा कार्यरत हुनुहुन्छ।

No comments:

Post a Comment