घरपायक तालिमले निर्वाचन प्रहरीमा उत्साह, सर्लाहीमा एकैसाथ आठ केन्द्रबाट तालिम चल्दै
मधेशदूत समाचारदाता---
सर्लाही ,माघ २१
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सर्लाहीमा निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यसहित प्रहरी तालिमलाई विकेन्द्रीकृत गरिएको छ। जिल्ला प्रहरी कार्यालय मलंगवा सहित जिल्लाका आठ स्थानबाट एकैसाथ निर्वाचन प्रहरीको तालिम सञ्चालन हुँदा सहभागीहरूमा उत्साह देखिएको छ।
जिल्ला प्रहरी कार्यालय मलंगवा तथा मातहतका सातवटा इलाका प्रहरी कार्यालयमार्फत सुरु गरिएको तालिमले स्थानीयस्तरमै जनशक्ति परिचालनलाई सहज बनाएको छ। निर्वाचन सुरक्षामा खटिने प्रहरीलाई घर पायक पर्ने स्थानमै तालिमको व्यवस्था मिलाइएकाले समय, खर्च र व्यवस्थापनमा समेत सहजता आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सर्लाही प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईका अनुसार जिल्लाबाट आवेदन दिएका ६ हजार २६५ जनामध्ये गृह मन्त्रालयबाट तोकिएको कोटाअनुसार ३ हजार ९२६ जना निर्वाचन प्रहरी छनोट भएका छन्। छनोट हुनेमा ३ हजार १ जना पुरुष र ९२५ जना महिला रहेका छन्।
छनोट भएका निर्वाचन प्रहरीलाई जिल्ला प्रहरी कार्यालय मलंगवा तथा चक्रघट्टा, हरिवन, हरिपुर, केशरगन्ज, गडहीया, बरहथवा र लालबन्दीस्थित इलाका प्रहरी कार्यालयमा खटाएर तालिम दिइँदैछ। घर नजिकैको इलाका प्रहरी कार्यालयमा हाजिर भएर तालिम लिन पाउने व्यवस्थाले सहभागीहरूलाई पारिवारिक तथा दैनिक जिम्मेवारीसँगै तालिममा सहभागी हुन सहज भएको बताइएको छ।
स्थानीय स्तरमै तालिम सञ्चालन गर्दा निर्वाचन अवधिमा सुरक्षाको दायित्व अझ व्यवस्थित र जिम्मेवार हुने विश्वास जिल्ला प्रहरी कार्यालय सर्लाहीले व्यक्त गरेको छ। निर्वाचन सुरक्षामा जनशक्तिको मनोबल र तयारी दुवै सुदृढ बनाउने लक्ष्यसहित तालिमलाई व्यवहारिक बनाइएको प्रहरी प्रशासनको भनाइ छ।
No comments:
Post a Comment