समानुपातिक बन्दसूचीबाट सर्लाहीका ११ उम्मेदवार हटाइए मधेशका ३५ उम्मेदवारको नाम काटिँदा सर्लाही शीर्ष स्थानमा
मधेशदूत समाचारदाता---
सर्लाही,माघ २१
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलहरूले पेस गरेको बन्दसूचीबाट सर्लाही जिल्लाका ११ जना उम्मेदवारको नाम हटाएको छ। आयोगले सार्वजनिक गरेको विज्ञप्तिअनुसार देशभरबाट कुल ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाइएको हो, जसमध्ये ३५ जना मधेश प्रदेशकै उम्मेदवार रहेका छन्।
मधेश प्रदेशबाट हटाइएका उम्मेदवारमध्ये सर्लाही जिल्लाका उम्मेदवारको संख्या सबैभन्दा बढी रहेको निर्वाचन आयोगले जनाएको छ। सर्लाहीपछि धनुषाबाट ५ जना, सप्तरी र महोत्तरीबाट ३–३ जना, सिरहा, रौतहट तथा पर्साबाट ४–४ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाइएको छ।
निर्वाचन आयोगका अनुसार राजनीतिक दलहरूबाट पेस गरिएका बन्दसूचीविरुद्ध परेका उजुरी, प्रचलित कानुनअनुसार उम्मेदवारको योग्यता तथा अयोग्यता सम्बन्धी व्यवस्था, आयोगका अघिल्ला निर्णय तथा दलहरूबाट प्राप्त विवरणका आधारमा नाम हटाउने निर्णय गरिएको हो।
आयोगले हटाइएका अधिकांश उम्मेदवार कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको पाइएको जनाएको छ। कानुनी प्रावधानअनुसार कालो सूचीमा रहेका व्यक्तिहरू निर्वाचनका लागि अयोग्य ठहरिने व्यवस्था छ।
सर्लाहीबाट ठूलो संख्यामा उम्मेदवारको नाम बन्दसूचीबाट हटिनु राजनीतिक वृत्तमा चासोको विषय बनेको छ। यस घटनाले आगामी निर्वाचनमा जिल्लाको प्रतिनिधित्व र दलहरूको आन्तरिक छनोट प्रक्रियामाथि समेत प्रश्न उठाएको छ।
No comments:
Post a Comment