Translate

Wednesday, February 18, 2026

सर्लाहीमा भारतीय सवारीमा खुलेआम चुनाव प्रचार आचारसंहिता कागजमै सीमित

 



मनोज यादव---
सर्लाही, फाल्गुन ६

    प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आचारसंहिता लागू भएको हप्तौँ बितिसक्दा पनि सर्लाहीमा यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको देखिएको छ। विशेषगरी सदरमुकाम मलंगवासहितका ग्रामीण क्षेत्रमा भारतीय नम्बर प्लेटका सवारी साधन प्रयोग गरी खुलेआम चुनावी प्रचार–प्रसार भइरहेको छ।
    स्थानीय बासिन्दा तथा सर्वसाधारणका अनुसार केही उम्मेदवार र तिनका समर्थकहरूले भारतीय गाडी तथा मोटरसाइकलमा राजनीतिक दलका झण्डा र ब्यानर टाँसेर घरदैलो अभियान सञ्चालन गरिरहेका छन्। नेपाली नम्बर प्लेटका सवारीमा कडाइका साथ अनुगमन भइरहेको भए पनि भारतीय नम्बर प्लेटका सवारीलाई भने रोकटोक नगरेको आरोप स्थानीयको छ। यसले निष्पक्ष निर्वाचन प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ।
एक स्थानीय मतदाताले भने, “सीमावर्ती क्षेत्रमा चुनाव प्रचारका धेरै गाडी भारतीय नम्बर प्लेटका छन्। कसैले रोक्दैन। भाडा सस्तो र सजिलो भएकाले उम्मेदवारहरू यस्तै गाडी प्राथमिकतामा राख्छन्।”
    निर्वाचन आचारसंहिताअनुसार विदेशी सवारी साधन प्रयोग गरी कुनै पनि प्रकारको चुनावी गतिविधि गर्न पूर्ण रूपमा निषेध गरिएको छ। तर सर्लाहीमा यो व्यवस्था व्यवहारमा लागू नभई कागजमै सीमित भएको देखिन्छ।
   जिल्ला प्रशासनले उम्मेदवार तथा दलका प्रमुखलाई आचारसंहिता सम्बन्धी जानकारी दिएर सचेत गराएको दाबी गरे पनि निर्वाचन कार्यालय, ट्राफिक प्रहरी, नेपाल प्रहरी तथा अन्य सुरक्षा निकायहरू मौन दर्शक बनेको आरोप लागेको छ। यसले प्रशासनको इच्छाशक्ति र निष्पक्षतामाथि थप प्रश्न खडा गरेको छ।
   जानकारहरूका अनुसार सीमावर्ती क्षेत्रमा भारतीय सवारी साधनको प्रयोगले विदेशी प्रभाव बढाउने, आर्थिक असमानता सिर्जना गर्ने र निर्वाचन प्रक्रियामा गम्भीर असर पार्ने जोखिम रहन्छ। स्थानीय नागरिक समाज, बुद्धिजीवी र सरोकारवालाहरूले तत्काल विदेशी सवारी साधनको प्रयोग रोक्न र दोषी उम्मेदवार तथा सहयोगीमाथि कडा कारबाही गर्न माग गरेका छन्।
   सर्लाहीको चुनावी परिवेशमा आचारसंहिता व्यवहारमा लागू नहुँदा आगामी निर्वाचन निष्पक्ष र पारदर्शी हुने-नहुने प्रश्न अझै अनुत्तरित रहेको छ।

No comments:

Post a Comment