Translate

Wednesday, February 18, 2026

सब–इन्जिनियर प्रमोद यादव हत्या काण्ड: शहीद घोषणा र क्षतिपूर्तिको मागसहित सर्लाहीमा पेन–डाउन




मधेशदूत समाचारदाता
सर्लाही, फाल्गुन ६

   पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत राष्ट्रसेवक कर्मचारी सब–इन्जिनियर प्रमोद कुमार यादवको गोली प्रहारबाट हत्या भएको घटनाप्रति कर्मचारी मिलन केन्द्रसहित जिल्लामा क्रियाशील सम्पूर्ण कर्मचारी युनियनहरूले गम्भीर ध्यानाकर्षण जनाएका छन्।
   सोमबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै कर्मचारी संगठनहरूले आइतवार साँझ मलंगवा -१० मा डेरा गरी बसेको यादवलाई घरबाट बाहिर बोलाई अज्ञात समूहले गोली प्रहार गरी हत्या गरिएको घटनालाई अमानवीय र निकृष्ट कार्य भन्दै कडा निन्दा गरेका छन्। विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ।
   कर्मचारी संगठनहरूको भनाइमा जनताको सेवामा अहोरात्र खटिने राष्ट्रसेवकमाथि कायरतापूर्वक गरिएको यो हत्या राज्यको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न हो। घटनामा संलग्न अपराधीहरूको यथाशीघ्र पहिचान गरी पक्राउ गर्न, कानुनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न तथा दिवंगत कर्मचारीलाई शहीद घोषणा गरी परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको छ।
   विज्ञप्तिमा आसन्न निर्वाचनको संघारमा कर्मचारीहरू फिल्ड तथा कार्यक्षेत्रमा खटिनुपर्ने अवस्था रहेको उल्लेख गर्दै यस्तो घटनाले कर्मचारीहरूको मनोबल गिराएको बताइएको छ। त्यसैले निर्वाचनमा खटिने र नियमित सेवा दिने सम्पूर्ण कर्मचारीको कार्यक्षेत्र तथा व्यक्तिगत सुरक्षाको पूर्ण प्रत्याभूति गराउन राज्यसँग जोडदार माग गरिएको छ।
   घटनाको विरोध र दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन दबाब सिर्जना गर्ने उद्देश्यले मंगलबार सर्लाही जिल्लाभरका सम्पूर्ण कार्यालयमा कार्यरत कर्मचारीहरूले एक दिन सेवाप्रवाह बन्द गर्दै पेन–डाउन गरेका छन्।
   संयुक्त विज्ञप्तिमा कर्मचारी मिलन केन्द्र सर्लाहीका अध्यक्ष उपेन्द्र कुमार सिंह, निजामती कर्मचारी संगठन केन्द्र सर्लाहीका अध्यक्ष बैकुण्ठ सापकोटा, निजामती कर्मचारी युनियन सर्लाहीका अध्यक्ष युगल किशोर साह, राष्ट्रिय कर्मचारी संगठन सर्लाहीका अध्यक्ष जगरनाथ लामा, निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य कपिलदेव साह तथा पूर्व सिविए अध्यक्ष उमेश मिश्रलगायतको हस्ताक्षर रहेको छ।


No comments:

Post a Comment